७ मंसिर २०८३, सोमबार

भोटेकोसी पीडा : स्थानीयको रकम झ्वाम पार्ने रणनीति, हाइड्रो प्रबन्धकले खरिद गरे जनप्रतिनिधि 

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोटेकोसी हाइड्रो प्रबन्धक प्रधान

काठमाडौं, ७ असार । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का वडाध्यक्ष साङ दोर्जे शेर्पाले एउटा हाइड्रो कम्पनीसँग मिलेर सर्वसाधारणलाई प्रताडित गरेको उजुरीको विषय सतहमा आएको छ ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित शेर्पाको वडामा निर्माणाधिन माथिल्लो भोटेकोसी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई दिनुपर्ने क्षतिपूर्तिमा गोलमाल भएको विवरण सतहमा आएको हो ।

१२ वैशाख २०७२ मा आएको माहाभूकम्पले वडा नंः ४ को गोलेपा, पांगसेर्पू, आटक, बाँमागाँउ, ज्यांगबा, डाँडागाँउ, ओखरबोटे, फुल्पिंगकट्टी, पागेप, सुरसिंग गाँउमा बढी क्षति गरेको थियो । यो क्षतिको मुख्य कारण सोही हाइड्रोका लागि बनाइएको टनेल मुख्य कारण थियो ।

टनेलका कारण नै क्षति भएको भन्दै वडावासी आन्दोलित भएपछि कम्पनीले माग सम्बोधन गर्ने सहमति गरेको थियो । स्थानीय निर्वाचन भएपछि कम्पनीका प्रबन्धक बबिन प्रधानले सर्वसाधारणलाई भन्दा जनप्रतिनिधिलाई नै खरिद गर्ने रणनीति बनाए, जुन योजनामा सर्वसाधारणका खलपात्र भएर निस्किए, वडाध्यक्ष शेर्पा ।

पछिल्लो समय माग सम्बोधन नभएको भन्दै स्थानीय फेरि आन्दोलनमा उत्रिएपछि ६ करोड बराबरको बिकासका काम गर्दिने सहमति भयो ।

यो सहमति उल्ट्याउन प्रधानको योजनामा वडाध्यक्ष शेर्पाले आफूनिकट स्थानीयको हस्ताक्षरलाई किर्ते प्रयोजनको खेल चलाएको दाबी गरिएको छ । यो विषय गुपचुप राख्ने प्रयत्न समेत गरियो ।

क्षतिपूर्ती तथा गाँउ बिकासको आर्थिक सम्झौता गर्दा वडा अध्यक्ष शेर्पाले प्रभाबित गाँउको सार्बजनिक भेला नै नगरी आफूखुशी हाईड्रोसँग सम्झौता गरेको असन्तुष्ट सर्वसाधारणले जनाएका छन् ।

वडाध्यक्ष शेर्पा

प्रभाबित गाँउको अन्य प्रतिनिधिलाई समेत छलकपट गरी माग पत्रमा हस्ताक्षर गराएको आरोप वडा अध्यक्ष शेर्पामाथि लागेको छ ।

स्थानीयको माग सम्बोधन नगरी वडा अध्यक्ष शेर्पाले उल्टै हाईड्रोको हितमा सम्झौता गरेको भन्दै छानबिनको माग गर्दै गाउँपालिकालगायतका विविध निकायमा उजुरी दर्ता गराए ।

स्थानीयलाई कुनै जानकारी बिना वडा अध्यक्ष शेर्पाको एकल नेतृत्वमा प्रभाबित क्षेत्र बाहिरका व्यक्तिको जमघट गरी हस्ताक्षर लिएका थिए । क्षती भएको ठाउँ छाडेर वडा अध्यक्ष शेर्पाले हाईड्रोको रकमले अन्य स्थानमा निर्माण कार्य सुरु गरेपछि गाँउले रुष्ट छन् ।

क्षतिपूर्तिवापत शेर्पाले हाइड्रो कम्पनीसँग कति रकम लिएको भन्ने विषय पनि खुलाएका छैनन् । ‘यहिँ पनि गोलमाल छ । एक त क्षति भएको ठाउँमा काम भएन अर्कोचाहिँ रकमको विषय पनि खुलाइएको छैन’, एक पीडित भन्छन्,‘यो पारदर्शीता नहुनुको कारण मिलोमतो हो भन्ने हाम्रो बुझाई छ ।’

यस बिषयमा हाईड्रोका प्रबन्धक प्रधानले समेत कति रकम निकासा गरेको भन्ने बिषयमा गाँउलेले जानकारी माग्दा ‘भन्न नमिल्ने’ जवाफ फर्काएका थिए । ‘क्षतिपूर्ति लिनेले पारदर्शी काम र कुरो गरेनन्, दिनेले जानकारी दिन नमिल्ने भनेपछि गोलमाल छ’, स्थानीय भन्छन्,‘नागरिकले जानकारी पाउने अधिकार नै मिच्ने यी दुवैजनाको मिलोमतो पक्का छ ।’

यस हिनामिनामा हाईड्रोका प्रबन्धक प्रधानले समेत मोटो रकम हातापारेको स्थानियको आरोप छ । पैसा हिनामिना र पीडित स्थानीयको माग सम्बोधनका बिषयमा यथार्थ जानकारी लिने उद्देश्यले भोटेकोसी गाउँपालिकाको न्यायिक समितीले ४ असारमा सार्बजनिक बहस गराउन दुबै पक्षलाई उपस्थितिका लागि पत्राचार गरेको थियो ।

हिनामिनाको आरोप लागेका प्रधान र शेर्पा उपस्थित भएनन् । हाईड्रोले भने केही थाहा नभएका प्रतिनिधीलाई भेलामा पठाएको थियो । शेर्पाले पारदर्शी हिसाबकिताब नदेखाएको भन्दै स्थानीय अब हाईड्रोको निर्माणाधिन काम रोक्ने उजुरीसहित अख्तियारको ढोकामा पुग्ने भएका छन् ।