जनकपुर । भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन (रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन् ।
ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन् ।
तोकिएको समयभन्दा केही ढिलो भएकोले ट्रेन भोली विहान सम्भवतः ९ः३० बजेसम्म जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुग्ने अनुमान छ ।
यस ट्रेनमा ११०० जना विशिष्ट व्यक्ति, विभिन्न सरकारी र कुटनीतिक निकायका पदाधिकारी, साधुसन्त, महात्माहरु रहेको नेपाल रेल्वेका प्रबन्ध संचालक परिवेश पराजुलीले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक आउने रेल तीन घण्टा मात्र जनकपुरधाममा विश्राम गरी मंगलबार नै १ बजे दिउँसोसम्म फर्किने छ ।
रेल नियमित नभएकाले यस पटक आउने यात्रुहरुलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको प्रबन्ध संचालक पराजुलीले बताए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुहरुको स्वागतदेखि, मन्दिर घुमाउने र खाजा खुवाउनेसम्मको व्यवस्थापन गरिएको छ ।
स्वागत समारोहमा यात्रुहरुलाई स्वागत गर्नका निम्ति श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको विशेष उपस्थिति रह्ने पराजुलीको भनाई छ ।
स्वागत समारोहका लागि रेल्वे स्टेशनमै पंडाल, स्टेज र बस्ने व्यवस्था मिलाइएको पराजुलीले बताए ।
यात्रुहरुको स्वागतमा झाँकी, सांस्कृतिक नृत्यलगायतका कार्यक्रम रेल्वे स्टेशनमै हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए ।
उनका अनुसार जनकपुरधामको मिनाप संस्थालाई सांस्कृति नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रमको जिम्मेवारी दिइएको छ ।
यात्रुहरुको सुविधाका लागि रेल्वे स्टेशनदेखि जानकी मन्दिरसम्मको मुल सडकको सरसफाइमा विशेष ध्यान दिइएको छ भने सडकको दुबै छेउमा नेपाल–भारतको झण्डा राखिने मेयर साहले जानकारी दिए ।
साथै फूलमालाले प्रत्येक यात्रुलाई स्वागत गर्ने मेयर साहको भनाइ छ । उनका अनुसार हिँड्ने सक्ने यात्रुहरुलाई पैदल नै मन्दिरसम्म स्वागतका साथ लगिने र हिँड्न नसक्ने यात्रुहरुका लागि निःशूल्क गाडिको व्यवस्था पनि गरिएको छ । मेयर साहले अयोध्या जनकपुरधाम रेलले त्रेताकालिन सम्बन्धलाई थप मजबुत बनाएको बताए ।
जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासका अनुसार रेल्वे स्टेशनमै जनकपुरधामका साधुसन्त पनि उपस्थित भएर यात्रुहरुको स्वागत गर्नेछन् । उनले जानकी मन्दिरमा पूजा आराधनाका लागि मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको बताए । वर्षौ देखिको सपना साकार भएकोमा छोटे महन्थ दासले प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् ।
अयोध्या जनकपुरधाम रेल सेवा सुरु हुनाले जनकपुरधामसहित यस क्षेत्रको पर्यटन व्यवसायी र व्यापारीहरुमा विशेष उत्साह देखिएको छ । हप्तामा एक पटक आउने सरयू कमला एक्सप्रेसले दुबै देशबीच रहेको बेटी रोटीको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास गरिएको छ ।









































प्रतिक्रिया