७ मंसिर २०८३, सोमबार

यस्तो हुनुपर्छ पत्नीलाई जन्मदिनको ‘सरप्राइज’

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवजीले पठाएको राहत सामग्री वितरण गरिँदै

काठमाडौं, ७ असार । पत्नीलाई जन्मदिनको सरप्राइजमा के दिनुहुन्छ– गाडी, गहना वा केही असर्फी ?

जन्मदिनका सरप्राइज यस्ता मात्र हुँदैनन् । बेलायत निवासी नेपाल प्रहरीका पूर्वअधिकारी शिवजी श्रेष्ठले पत्नीलाई जन्मदिनको सरप्राइज दिएका छन्– ससुराली गाउँमा अलपत्रलाई खाना खुवाएर !

बेलायतको बेजिंगस्टक निवासी श्रेष्ठले आफ्नी पत्नी उर्मिला श्रेष्ठको जन्मदिनमा ससुराली गाउँ इलाममा कोरोनाको कारण लक डाउनमा परेर काम र मामबाट बन्चित भएका २० बिपन्न परिवारलाई आधारभूत आवश्यकताका कुराहरु वितरण गरेर मनाएका हुन् ।

यो विषयबारे उमिर्ला जानकार थिइनन् । जब इलामबाट दाजुले जन्मदिनको शुभकामना दिन फोन गरे त्यसबेला उनलाई यो काम सरप्राइज भयो ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले पठाएको शुभकामना संदेश पठाएका थिए । सो कार्यक्रममा राहत पाउने परिवारका व्यक्तिहरुले बिदेशमा रहेर पनि आफ्नो जन्मथलोमा दुखी दाजुभाई दिदीबहिनीहरुलाई सम्झिएर आफ्नो जन्मदिन मनाएकोमा खुशी भएको सन्देश पठाएका थिए ।

‘कतिपय परिवार त फोनमा नै भक्कानिनु भयो । यो मेरा लागि अहिलेसम्मकै सबैभन्दा प्यारो सरप्राइज भयो’, उर्मिला भन्छिन् ।

इलाम नगरपालिका वडा न ७ का मनोज ताम्राकारले बिदेशमा रहेपनि उर्मिलाले आफ्नो जन्मथलोलाई बरोबर सम्झिने गरेको बताए । माईखोलामा रहेको बृद्धाश्रमका बृद्ध बृद्धाहरुलाइ सहयोग गर्नुको साथै इलाममा आफू पढेको स्कुल आदर्श माबिमा आफ्नो स्वर्गीय बुवा काका र निनिहरुको सम्झनामा आफ्ना दाजुहरु र बहिनीसँग मिलेर इ–लाइब्रेरी स्थापना गरेको ताम्राकार बताउँछन् ।

जन्मदिन परेकी उर्मिला र पति शिवजी

जिल्ला प्रशासन कार्यालय, इलामका प्रतिनिधिले आफ्नो जन्मदिनमा फजुल खर्च गर्दै तडक भडक गरेर आफ्नो परिवार मात्रै खुशी भएर मनाउनु भन्दा गरिब दुखीहरुको मुहारमा समेत खुशी ल्याउदै उनीहरुको आशिर्बाद समेत लिएर मनाउनु एउटा गज्जबको तरिका लागेको भन्दै अरुले पनि यस्तै सकारात्मक तरिकाले मनाउने तरिका सिक्नुपर्ने बताए ।

राहत वितरण कार्यक्रममा समाजसेवी बुद्धिमान राईले दिन र समय सबैको सधै एकनास नहुने, महामारीबाट धेरै पिडित भएको अवस्थामा श्रेष्ठहरू जस्तो दयालु मन भएकाहरुले दुखमा रहेकाका लागि काम गरिदिँदा राहत मिलेको अनुभव सुनाए ।

कार्यक्रममा उर्मिलाकी आमा केदारकुमारी श्रेष्ठ र काकी मुना श्रेष्ठको हातबाट राहत सामग्री हस्तान्तरण शुरु गरिएको थियो ।

सो कार्यक्रमको संयोजन उर्मिला श्रेष्ठका दाजुहरु पत्रकार महासंघ इलाम शाखाका पूर्वउपाध्यक्ष मोहन मान श्रेष्ठ र इलाम क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख डा योगेन्द्र मान श्रेष्ठ तथा भदा सुयोग्य श्रेष्ठले गरेका थिए ।

बेलायतमा समेत बिभिन्न राहत वितरण कार्यक्रममा संयोजन गरिरहेका शिवजी श्रेष्ठले आफ्नो श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा राहत वितरण एउटा पुण्यको काम भएको बताए । ‘हुने खाने भन्दा पनि हुदा खानेको अबस्था अहिले नाजुक भइरहेको समाचार सुन्दा र पढ्दा मन नै उकुश मुकुश भएकाले सहयोगको भावना आयो’, उनी भन्छन् ।

राहत कार्यक्रममा इलामका अति बिपन्न २० परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, मरमसला, औषधि सहितको प्याकेज प्रदान गरिएको कुरा संयोजक मोहन मान श्रेष्ठले बताए ।