
महेन्द्रनगर, २९ फागुन । नेपाल पत्रकार महासंघ कञ्चनपुरले रेडियो नागरिकका प्रबन्ध निर्देशक तथा महेन्द्रनगरका पत्रकार श्याम भट्टमाथि आक्रमण गर्ने समुहको खोजी गरेर तत्काल कारवाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा आज दिउँसो बसेको महासंघको बैठकले रेडियो नागरिक सम्बद्ध पत्रकार भट्टमाथि आक्रमण गर्ने रेडियो पश्चिम नेपालमा कार्यरत पत्रकार दिया चन्द लगायतको समुहमाथि कारवाही गर्न माग गरेको हो ।
पत्रकार चन्दलाई पारिश्रमिकको विषयलाई लिएर रेडियो नागरिकसँग उत्पन्न विवाद समाधानका लागि श्रम अदालतमा मुद्दा दायर गर्न सुझाव दिँदा समेत पत्रकार भट्टमाथि आक्रमण हुनु निन्दनीय भएको बैठकले ठहर गरेको सचिव केशव सावदले जानकारी दिनुभयो ।
पारिश्रमिकको विषयमा छलफल गर्ने निहुँ बनाएर चन्दसँगै गएको एक समुहले हिजो बेलुकी जिल्ला पशु सेवा कार्यालयमा पत्रकार भट्टमाथि आक्रमण गरेको थियो ।
पत्रकार भट्टले आवश्यक कारवाहीका लागि महासंघमा दिएको निवेदनमा आफुमाथि चन्दको निर्देशनमा नेकपा माओवादी विप्लव समुहका राजेन्द्र बिष्ट, दिपक साउँद, भुवन कुँवर, निरज सहितका छ जनाको समुहले आक्रमण गरेको उल्लेख गर्नुभएको छ ।
पत्रकार महासंघको बैठकपछि अध्यक्ष तिवारीको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले भट्टमाथि आक्रमणकारी गर्ने समुहलाई कारवाही गर्न कञ्चनपुरका प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानसँग आग्रह गरेको छ ।
जवाफमा प्रहरी उपरीक्षक प्रधानले रीतपूर्वक कारवाहीका लागि उजुरी दिए आक्रमणमा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएको सचिव सावदको भनाई छ ।
यसैबीच रेडियो पश्चिम नेपालले पत्रकार भट्टमाथि भएको आक्रमणको मुख्य दोषी पत्रकार चन्दलाई निलम्बन गरेको छ ।
अर्को निर्णय नभएसम्मका लागि चन्दलाई निलम्बन गरेको रेडियो पश्चिम नेपाल सम्बद्ध स्रोतले जानकारी दिएको छ ।















प्रतिक्रिया