धनगढी, ३ असार । कैलाली बर्दगोरिया गाउँपालिका–६ बास्कोटीस्थित शिवमन्दिर सामुदायिक भवनको टस निर्माण गर्न प्रदेश सांसद विकास कोष (प्रदेश पूर्वाधार विकास कार्यक्रम) को १४ लाख रुपैयाँ छुट्ट्याइएको छ।
प्रदेश सांसद नन्दबहादुर साउदको ३ करोडको कोषबाट त्यो रकम राखिएको हो। प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीले त्यो रकम खर्च गर्न कोरोना संकटबीच २३ जेठमा उपभोक्ता समिति अध्यक्ष रवीन्द्र चौधरीसँग सम्झौता गरेको छ।
चालू आर्थिक वर्ष सकिन लाग्दा कोषको बजेट सिध्याउन गरिएको हतारको यो एउटा दृष्टान्त हो। जेठ अन्तिम साता सम्झौता गरी असारमा ‘विकास गर्ने’ पुरानो रोग कोरोना कहरमा पनि दोहोरिएको छ। प्रदेश सांसद पूर्णा जोशी भन्छिन्, ‘लकडाउनमा विकासको काम हुँदैन भन्ने सबैलाई थाहा छ। तर, यही बेला सम्झौता गरी बजेट निकासा गरिएको छ।’
जोशी प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिकी सदस्य पनि हुन्। प्रदेश मन्त्रीहरूलाई समितिले बोलाएर असारे विकास रोक्न निर्देशनसमेत दिएको उनी सुनाउँछिन्। तर, त्यसको अवज्ञा भएको छ।
सम्झौतापछि उपभोक्ता समिति अध्यक्ष चौधरी २१ दिनभित्र १४ लाख रुपैयाँबराबरको काम गराउन हतारमा छन्। भन्छन्, ‘सिमेन्ट पाउन थालिएको छ। अब २१ दिनमा काम सकिन्छ। त्यसमा हामीलाई कुनै चिन्ता छैन।’
त्यसो त कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको इटाहा बाबा मन्दिर निर्माणका नाममा प्रदेश सांसद तारा लामा तामाङले १० लाख विनियोजन गरेका छन्। त्यो बजेटबाट मन्दिर निर्माण गर्न लकडाउनकै बीच २६ जेठमा उपभोक्ता समितिसँग सम्झौता गरिएको छ। ‘असार १५ गतेभित्र मन्दिर बनाइसक्ने सम्झौता भएको छ’, समितिका सचिव रामप्रवेश राना भन्छन्, ‘सायद सकिन्छ होला।’ मन्दिर निर्माण सम्झौता भए पनि २८ जेठसम्म जगसमेत खनिएको छैन। तर, १५ असारसम्ममा १० लाखको काम सक्ने दाबी सचिव रानाको छ।
सुदूरपश्चिम प्रदेशमा ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र छन्। हरेक प्रदेशसभा सदस्यलाई पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत ३/३ करोड गरी ९६ करोड छट्ट्याइएकोे थियो। यो जेठमा मात्रै ४० करोडभन्दा बढीका योजना सम्झौता भएका छन्। सांसदहरूले जेठमा विषयगत कार्यालयलाई दबाब दिएर सम्झौता गराएका कारण असारभरिमा काम सक्ने चटारोमा उपभोक्ता समितिहरू छन्। शिवराज भट्टले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया