न्युयाेर्क, २ असार । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा आपतकालीन रुपमा प्रयोग हुँदै आएको मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन अमेरिकामा अब उपरान्त प्रयोग नहुने भएको छ ।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको हो ।
मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको छ ।
हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।
एफडिएले हाइड्रोक्सिक्लोरोक्वीन फिर्ता लिएपछि ट्रम्पले आफूले गर्दै आएको वकालतको बचाउ गरेका छन् ।
एफडिएले गएको मार्चमा कोरोना भाइरसबाट संक्रमित भएका केही गम्भीर बिरामीको आपतकालीन उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको थियो ।















प्रतिक्रिया