
काठमाडौं, १ असार । दुई साता अघि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले परिक्षण नगरेपछि सिरहामा स्वाब संकलन रोकिएको छ ।
क्वारेन्टाइनमा रहेकाहरूको स्वाब परिक्षण रोकिएपछि अवस्था भयावह हुन सक्ने प्रक्षेपण स्थानीय अधिकारीहरूले गरेका छन् । सिरहा भारतीय सीमासँग जोडिएको तराईको जिल्ला हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवका अनुसार २ नम्बर प्रदेश राजधानी जनकपुरमा रहेका प्रयोगशालाले पनि स्वाब नपठाउन भनेपछि स्थिति कस्तो छ भन्ने जानकारी पाउन मुस्किल भएको छ । क्वारेन्टाइनमा भएकाहरू घर फर्किने होडमा छन् ।
‘कसको कोरोनाको अवस्था कस्तो छ या छैन भन्ने पत्तो लगाउन मुस्किल भएको छ’, स्थानीय अधिकारी भन्छन्,‘परिक्षणको दायरा बढाउने या सिरहामा नै प्रयोगशाला राख्ने विषयमा सोचिएन भने गाह्रो अवस्था आउन सक्छ ।’
१९ जेठदेखि विभिन्न स्थानमा रहेका प्रयोगशालाले परिक्षण गर्न मानेका छैनन् । स्थानीय जनप्रतिनिधि, सांसद र सरकारी अधिकारीले पनि प्रयोगशाला स्थापनाका लागि जोडबल गरेका छैनन् ।
भारतबाट दैनिक घर फर्किनेको संख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब संकलन नै रोकिएपछि कोरोना संक्रमण थप फैलिने जोखिमको प्रक्षेपण स्वभाविक बनेको छ ।
पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते संकलन गरी पीसीआर परीक्षण गर्न ४२० जनाको स्वाब पठाएकामा हालसम्म १५० जनाको मात्र रिपोर्ट आएको थियो ।
हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिपोर्ट आएको छ भने ३४२ जनाको रिपोर्ट अझै आउन बाँकी छ ।











प्रतिक्रिया