३ कार्तिक २०८३, मंगलबार

कसले पठायाे सरकारविरोधी प्रदर्शनमा प्लेकार्ड बोकेर यी विदेशीलाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सरकारविरोधी प्रदर्शनमा कसरी सहभागी भए विदेशी नागरिक ? उनीहरूलाई सरकारका विरोध गरिएका ‘प्लेकार्ड’ बोक्न कसले लगायो ? विभिन्न नारासहितका ‘प्लेकार्ड’ बोकेर विदेशी नागरिक सडकमा उत्रिनु रहस्यमय देखिएको छ।

उनीहरू प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न भएका हुन्। पक्राउ परेकामध्ये पाँच जना पर्यटक भिसामा आएकाहरू छन्। एक जना वैवाहिक भिसामा नेपाल बस्दै आएकी महिला छिन्। उनीहरूले अध्यागमन कानुनको उल्लंघन त गरे नै, उनीहरूका अवाञ्छित गतिविधिले मुलुकको सुरक्षामा चुनौतीसमेत पैदा गराएको छ।

माइतीघर मण्डलामा शनिबार भएको तीन चिनियाँसहित ६ जना विदेशी पक्राउ परेका हुन्। अन्यमा अमेरिका, अस्ट्रेलिया र नर्वेका १/१ जना नागरिक छन्। उनीहरू अध्यागमन विभागको नियन्त्रणमा छन्। अध्यागमनले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ।

नेपालको मामिलाबारे भएको प्रदर्शनमा प्लेकार्डसहित सहभागी विदेशीलाई के कारबाही हुन्छ त ? विभागका महानिर्देशक रमेशकुमार केसीले ती विदेशीमाथि अनुसन्धान भइरहेको वताए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौं’, महानिर्र्देेशक केसीले अन्नपूर्णसँग भने, ‘अनुसन्धानले निकालेको निष्कर्षबमोजिम उनीहरूलाई कारबाही गर्छाैं।’

पक्राउ परेकामध्ये तीन चिनियाँ, अस्ट्रेलियाली र अमेरिकी नागरिक पर्यटक भिसामा आएका हुन्। नर्वेकी युवती भने वैवाहिक भिसामा नेपाल बसेको पाइएकोे छ। चिनियाँ नागरिकमा चीन ली, गुलिगो जिया, प्लुटो लीउ, अमेरिकाका स्टेफन आन थ्रोनटोन, अस्ट्रेलियाका कलानी गाकोन र नर्वेकी मारिता लिभेरोइड छन्।

उनीहरू सरकारविरोधी प्रदर्शनमा स्वयं आए वा कसैको इच्छामा ल्याइयो भन्ने अनुसन्धानको विषय बनेको छ। घुम्ने उद्देश्यले नेपाल भित्रिएका विदेशीका यस्ता गतिविधिले शंका उत्पन्न गराएको छ। प्रहरीले विदेशी नागरिक भएर सरकारविरोधी प्रदर्शनमा संलग्न भएको र लकडाउन उल्लंघन गरेको अभियोग लगाएको छ।

उनीहरू अधिकांश ठमेलमा बस्दै आएका थिए। पक्राउपछि थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई अध्यामगन विभागमा बुझाएको छ। सरकारविरोधी प्रदर्शनलाई लिएर विश्लेषकले विभिन्न कोणबाट टिप्पणी गरिरहेका बेला प्लेकार्डसहित विदेशी भेटिनु संयोग मात्र हुन नसक्ने विभिन्न सुरक्षा सम्बद्ध अधिकारी बताउँछन्। शम्भु कट्टेलले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।