३ कार्तिक २०८३, मंगलबार

विपद्का बेला जथाभावी खर्च

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नेपाली सेनाले १ सय ५० वटा सवारी खरिद गर्ने योजना अघि सारिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको ०७७/७८ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी झापाको दमक र नुवाकोटको ककनीमा भ्युटावर बनाउने उल्लेख छ । ‘साना आयोजना भएकाले रातो किताबमा बजेट विनियोजनको अंक उल्लेख गरिएको छैन,’ अर्थ स्रोतले भन्यो, ‘झापाको भ्युटावरलाई ४० करोड र नुवाकोट ककनीको भ्युटावरलाई ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।’ सेनाले खरिद गर्ने भनिएका सवारीसाधनको बजेट अंक भने खुलेको छैन । ‘एकमुुस्ट बजेटबाट पछि सेनाले नै विनियोजन गर्छ,’ अर्थ स्रोतले भन्यो ।

कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकट रहेकाले यी दुवै कार्यक्रमलाई सरोकारवाला अधिकारीले आलोचना गरेका छन् । ‘यी कार्यक्रम सामान्य अवस्थामा समेत आवश्यक होइनन्,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भने, ‘अहिले कोरोना संक्रमण रोक्ने र राहत बाँडेर माग बढाई अर्थतन्त्रलाई गतिशील बनाउने बेला हो । तुरुन्तै प्रतिफल नदिने क्षेत्रमा कनीकनी जुटाएको सरकारी स्रोत प्रयोग गरिनु जनताप्रति सरकारको असंवेदनशीलता हो ।’

दमककै बासिन्दाले समेत भ्युटावर निर्माणको साटो अत्याधुनिक अस्पताल वा अन्य आयोजनामा लगानी गर्न अनुरोध गरेका थिए । केही स्थानीयको अनुरोध र प्रधानमन्त्री ओलीकै जोडबलमा दमक नगरपालिका–३ दापगाछीमा २५ तले भ्युटावर निर्माण चालु आर्थिक वर्षमा सुरु भएको हो । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । उनले नै ०७३ जेठ २८ मा भ्युटावर शिलान्यास गरेका थिए । यसमा १ अर्ब ५४ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण गर्ने गरी चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभीसँग ठेक्का सम्झौता भइसकेको छ । ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्नेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालय रहनेछन् ।

सामान्यता स–साना आयोजना तथा पर्यटकीय दृष्टिकोणका भ्युटावर निर्माणको जिम्मा प्रदेश तथा स्थानीय तहको हो । संघीय सरकारले अनुदान रकम बढाइदिन सक्छ । तर संघीय सरकारकै बजेटमा कार्यक्रम राखी नुवाकोटको ककनीमा भ्युटावर निर्माणको काम अघि बढाउन लागिएको छ ।

रानीपौवाभन्दा केही माथि हवेली डाँडामा संघीय सरकारको बजेटबाट भ्युटावर बनाउन लागिएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । ‘साह्रै राम्रो ठाउँ छ । पर्यटकीय दृष्टिले बनाउन लागिएको थियो । बजेट ६ करोड रुपैयाँ जति लाग्छ होला,’ उनले भने, ‘अघिल्लो वर्षमै बजेट विनियोजन भएको थियो । ठेक्का पनि लागेको थियो । तर ठेकेदार भागेपछि निर्माण सुरु हुन पाएन ।’ चालु आवमा भने बजेट विनियोजन भएको थिएन । संघीय सरकारले भ्युटावर बनाउन लागेको ठाउँभन्दा ९ किलोमिटर पर ककनीमै प्रदेश सरकारले अर्को भ्युटावर बनाउँदै छ । ‘प्रदेशले ४ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ अध्यक्ष लामाले भने, ‘त्यहाँको काम आउने वर्ष सकिन्छ ।’

योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेल भ्युटावर निर्माण आवश्यक रहे त्यसको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने सुझाउँछन् । ‘प्रतिफल नदिने स–साना कार्यक्रममा संघीय सरकारको ध्यान जानु हुँदैन भनेर संघीयतामा जानुअघि नै हामीले रातो किताब भाग–२ नछाप्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘संघीयतामा गइसकेको अवस्थामा प्रदेश र स्थानीय तहहरूको क्रियाशीलता र क्षेत्राधिकारमाथि अपमान गर्नु हुँदैन ।’

योजना आयोगको वार्षिक विकास कार्यक्रमअनुसार नेपाली सेनाको जमिन क्षमता अभिवृद्धि कार्यक्रमका लागि चालु आवमा १ सय ४६ वटा सवारीसाधन प्राप्त भइसकेका हुनेछन् । त्यसभन्दा ४ वटा बढी अर्थात् १५० सवारीसाधन आउँदो आवमा खरिद गर्ने योजना देखिन्छ । यी सबै सवारीसाधनका लागि कति बजेट लाग्ने भनेर छुट्याइएको छैन ।

नेपाली सेनाको जंगीअड्डालाई आगामी आवका लागि ५० अर्ब ९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उसले यो बजेट प्राप्त गरेपछि सवारीका लागि रकम विनियोजन गर्ने भएकाले अंक खुलाउन नसकिएको अर्थका अधिकारीहरू बताउँछन् । अघिल्लो वर्ष सेनाले ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरका सवारी खरिद गरेको थियो । कान्तिपुर दैनिक कृष्ण आचार्यले समाचार लेखेका छन् ।