२ कार्तिक २०८३, सोमबार

नेपालको निर्णय स्वीकार्य नहुने भारतको प्रतिक्रिया

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएकोमा भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्तिमार्फत नेपालको निर्णय स्वीकार्य नहुने बताएका हुन् । उनले नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् ।

‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुनेगरी नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रष्ट पारिसकेका छौँ । कृत्रिम विस्तारको यो दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित र स्वीकार्य छैन । यसले विद्यमान सीमा समस्याबारे वार्ता गर्ने हाम्रो वर्तमान बुझाईलाई पनि उल्लंघन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकले दुई तिहाइभन्दा बढी मतले नयाँ नक्सासम्बन्धी संशोधन विधेयक पारित गरेको छ ।

यसअनुसार अब नेपालको नयाँ ‘निशान छाप’ मा वास्तविक भूभागअनुसारको नक्सा समेटिनेछ ।