
काठमाडौँ, ३१ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरी प्रतिनिधिसभाको बैठकबाट बाहिरिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले गिरीले दर्ता गराएको संविधान संशोधन प्रस्तावको दर्ता खारेज गरेको निर्णय सुनाएपछि गिरी बाहिरिएकी हुन् ।
सांसद गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको बताइएको छ ।
आजै बसेको पार्टीको संसदीय दलको बैठकमा उनले संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने कुरा राखेकी थिइन् ।
पार्टीको बैठकमा सबै सांसदलाई सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपछि गिरी बैठक छोडेर निस्केकी थिइन् ।
उनलाई राष्ट्रिय एकता र अखण्डताको पक्षमा पार्टीलाई एक बनाउनुपर्ने र संशोधनको पक्षमा मतदान नगर्दा जनतामा पार्टीप्रति नकारात्मक धारणा विकसित हुने भन्दै सांसदहरुलाई मतदानका लागि उपेन्द्र यादवले निर्देशन गरेका थिए । गिरीले भने आफ्नै हठ राख्दै बैठकबाट बाहिरिएकी थिइन् ।
गिरीले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि समाजवादी पार्टीले सभामुख सापकोटालाई पत्र लेखेर उक्त प्रस्ताव अस्वीकार गर्न अनुरोध गरेको थियो । त्यसअनुसार गिरीको प्रस्ताव अस्वीकार भएको छ ।















प्रतिक्रिया