काठमाडौं, २९ फागुन । द्वन्द्वका बेला निर्दोषमाथि शोषण गरेको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई नेपाल ल्याएर छानविन गर्न सरकारलाई निर्देशन दिइएको छ ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले बेलायतमा मुद्दा खेपिरहेका कर्णेल लामालाई नेपाल ल्याएर छानविन गर्न सरकारलाई निर्देशन दिएको हो ।
शुक्रबार समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले लामालाई नेपाल ल्याएर सत्य निरुपण आयोग तथा मेलमिलाप आयोगबाट छानविन गर्न निर्देशन दिएको हो ।
जसअनुसार नेपाल सरकार, रक्षा, परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहलबाटै लामा तत्काल नेपाल फर्काउन पहल गर्न निर्देशन दिइएको छ ।
बैठकमा उपस्थित भएका कानुनमन्त्री नरहरी आचार्यले कर्नेल लामा सरकारले नेपाल ल्याउन पहल गरेपनि बेलायतमा मुद्दा चलिरहेकाले कठिन भएको बताउनुभयो ।
साथै मन्त्री आचार्यले समितिका सदस्यहरुले उठाएको विषयमा सरकारले अहिलेसम्म गरेको पहल र प्रयत्नबारे जानकारी समेत गराउनुभएको थियो ।
अन्तर्राष्ट्रिय कानुनी प्रचलन अनुसार कुटनीतिक पहलबाटै लामालाई नेपाल फर्काइने मन्त्री आचार्यको भनाई छ । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
शान्ति मिसनमा दक्षिण सुडानमा खटिएका कर्णेल कुमार लामा विदामा बेलायत गएको बेला सशस्त्र द्वन्द्वकालमा थुनुवालाई यातना दिएको अभियोगमा २०६९ पुस १९ गते पक्राउ परेका थिए । लामा धरौटीमा छुटेपनि अदालतले बेलायत छाड्न अनुमति दिएका छैन ।















प्रतिक्रिया