
काठमाडौं, २७ जेठ । लक डाउन उल्लंघन गरेको भन्दै प्रहरीले न्युरोड क्षेत्रका पसल बन्द गराउन थालेपछि मंगलबार तनावको अवस्था भएको छ ।
बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।
लक डाउनका कारण समस्या भएको भन्दै व्यापारीले एकतर्फी रुपमा महासंघको आह्वानमा पसल खोल्न थालेका थिए । स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
लक डाउनका कारण व्यापार मन्दी, भाडा तिर्नुपर्ने र सरकारले करका लागि पनि समयसीमा तोकेपछि व्यापारीले एकतर्फी रुपमा पसल खोल्न थालेका थिए ।











प्रतिक्रिया