४ कार्तिक २०८३, बुधबार

योग वैज्ञानिक छैन भन्ने सांसद सुवालको अभिव्यक्तिप्रति गम्भीर आपत्ति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सांसद प्रेम सुवालले संसदमा बोल्दा योग वैज्ञानिक छैन र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको प्रति योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै सांसद सुवालको योगको बारेमा उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

योगका अनेकौँ गुरुहरु भएको तर यसको सार र प्रयोग एउटै भएको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, रामदेवले योग सुरु गरेको नभइ जनमानसमा लोकप्रिय बनाउन भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

सांसद सुवाललाई नै कोड गर्दै योग पूर्णरुपमा वैज्ञानिक भएको र विश्वका अन्य देशहरुले यसलाई अंगाली सकेको संघका महासचिव डा. रविनलाल श्रेष्ठले जनाएका छन् ।

त्यस्तै, संघका उपाध्यक्ष डा. यञ्जन गैह्रे सुरुमा योग अध्यात्मिक साधनाको रुपमा प्रचलित रहे पनि अहिले योग चिकित्साको रुपमा विकसित भइसकेको बताउँछन् ।

त्यस्तै, योगका विषयमा हजारौँ रिसर्च आर्टिकलसहरु प्रकाशित भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

गुगल स्कोलरमा योग थेरापीका डेढ लाखभन्दा बढी, मेडिटेसनका ११ लाख भन्दा बढी प्राणायमका २५ सय भन्दा बढी सोध पत्रहरु प्रकाशित रहेको विज्ञप्तिले उल्लेख गरेको छ ।

त्यस्तै, पबमेडमा योग थेरापीका ५५ सयभन्दा बढी, मेडीटेसनका ७ हजार भन्दा बढी सोध पत्रहरु प्रकाशित छन् । त्यसैगरी, विश्व स्वास्थ्य संगठन, अमेरिकन हाट एशोसियसन जस्ता संस्थाहरुले योग थेरापीलाई मान्यता प्रदान गरिसकेको विज्ञप्तिमा भनिएको छ ।

विश्वका अनेकौँ युनिभर्सिटीहरुमा योग थेरापीको पठनपाठन हुने साथै योग तथा प्राकृतिक चिकित्सकहरुलगायत आधिकारिक रुपमा योग चिकित्साको अभ्यास गरेको तथ्य पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले योग मानिसको शारीरिक, मानसिक, भावनात्मक, अध्यात्मिक र सामाजिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताउँदै संसदमा बोल्दा होस पुर्याएर, विषयगत अध्ययन गरेर मात्र बोल्न अनुरोध गरेको छ ।

आफू भ्रममा परेर देश र देशबासीहरुलाई पनि भ्रमित गर्ने कार्य नगर्न पनि सम्बन्धित सांसदलाई संघले अनुरोध गरेको छ ।