७ मंसिर २०८३, सोमबार

नियुक्तिका बेला आईजी ज्ञवालीले देखाएको ‘अपेक्षाकृत थिती’को अर्थ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) उपेन्द्रकान्त अर्यालले तोडेको थितिले सर्वेन्द्र खनालको कार्यकालसम्म आउँदा निरन्तरता पायो । तर त्यसलाई तोड्दै आईजी नियुक्ति भएको केही घन्टामा नै आईजी ठाकुरप्रसाद ज्ञवालीले पूर्वआईजीबाट अनुभव सुन्ने र संगठन हाँक्ने परम्परा थालेका थिए ।

उनी पूर्वआईजी तथा नेपाल प्रहरीका जीवित इतिहास खड्गजीत बराललाई भेट्न पुगेका थिए । यसले प्रहरीमा नयाँ प्रणाली र थिति बस्न सक्ने संचार भएको थियो । आईजी ज्ञवालीको यो थिति उनको नियुक्तिका बेलाको क्रमभंग थियो ।

अब, उनै अर्यालले बिगारेको निरन्तरताको क्रमभंग उनको सेवा निवृत्त हुने बेला पनि गर्छन् गर्दैनन् भनेर धेरैले अपेक्षा गरेका छन् ।

प्रहरीका अनुभवी अधिकारीहरू भन्छन्,‘नियुक्ति हुनासाथ तोडिएको परम्परालाई जसरी स्थापित गर्नुभयो अब घर जाने बेला सिनियर प्रहरी अधिकारीलाई चार्ज बुझाएर महिना दिन अघि नै विदा बस्नु हुन्छ या हुन्न भन्ने विषय पनि महत्वको छ । यसले उहाँको इमान्दारीताको प्रष्टीकरण दिनेछ ।’

ज्ञवालीले सेवाबाट विदा लिन कम्तिमा ३१ दिन बाँकी छ । चेन अफ कमाण्ड रहेको संगठनमा एक महिना अघि नै सिनियर एआईजीलाई संगठनको जिम्मेवारी सुम्पेर विदा बस्ने परम्परा रहेको थियो । जसलाई अर्यालको कार्यकालमा तोडियो, जोड्ने प्रयत्न त्यसपछि आईजी भएका प्रकाश अर्याल र खनालले पनि गरेनन् ।

‘संगठनको परम्परा र रीतिको लिक भत्किएको थियो, एउटा विन्दुमा आईजी ज्ञवालीले जोड्ने प्रयत्न गर्नुभयो अब घरविदा हुने बेलामा पनि यो परम्परा उहाँले नै स्थापित गर्दा राम्रो हुने थियो’, प्रहरीका पूर्व बरिष्ठ अधिकारीहरू भन्छन्,‘यसले उहाँलाई नेपाल प्रहरीको इतिहासमा छोटो अवधिको नेतृत्व गरे पनि स्मरणयोग्य पात्र बनाउनेछ ।’

प्रहरीमा यो परम्परा तोडिए पनि नेपाली सेनामा अहिले कायम नै छ । जिम्मेवारीताको बोध गर्दै कायम रहेको परम्परा विस्तारै स्थापित गरे भोलीको पुस्ताका लागि पनि नजिर बन्ने र यहि आगामी पुस्ताका लागि उदाहरण बन्ने एक जना प्रहरीका पूर्वआईजी बताउँछन् । उनी भन्छन्,‘मेरो नाम लेख्नु पर्दैन तर हाम्रा पालामा हामी एक महिना अघि नै घर बस्थ्यौं, निमित्तको जस्तै जिम्मेवारी सिनियर एआईजीलाई दिएर जान्थ्यौं । एक प्रकारले संगठनमा चलेको परम्परा थियो, अहिले देखिएको छैन ।’

उनी त प्रहरी संगठन पनि राजनीतिक दल र नेताको जस्तै व्यवाहारमा पुगिसकेको ठान्छन् । भन्छन्,‘कुर्सी र पद बाँचुञ्जेल नछाडौं झैं लाग्दो रहेछ । कतिपयले त कार्यकाल बढाउन लविङ गरेका पनि समाचार सुनिन्थे । ज्ञवालीले नियुक्ति भएका बेला संगठनमा सुधार गर्न खोजे जस्तो देखिन्थ्यो, अब के गर्छन् उनकै हातमा छ ।’

प्रहरी नेतृत्वको आलोचना र समर्थन हुनु स्वभाविक हुने भए पनि उसको एक दिनको कामले नै महत्व स्थापित गर्न सक्ने धेरै अनुभवीहरूको बुझाई छ ।