७ मंसिर २०८३, सोमबार

शिव सेना नेपालले ठाउँ–ठाउँमा राँके जुलुस निकाल्नुको कारण

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नवलपुर र सुस्तामा शिव सेना नेपालले विहीबार साँझ राँके जुलुस निकालेपछि केही नेता र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा लिएको केही घन्टामा उनीहरूलाई रिहा पनि गरियो ।

तर यसै महिना मात्र शिव सेनाले विभिन्न ठाउँमा राष्ट्र, राष्ट्रियता र देशको भौगोलिक अखण्डतामाथिको हस्तक्षेपविरुद्ध विभिन्न ठाउँमा राँके जुलुस निकाल्नुको कारण भने एउटै छ– राष्ट्रिय एकताको प्रतीक मानिने राजसंस्थाको पुर्नस्थापना ।

मुलुकमा भ्रष्टाचार व्याप्त भएको र गणतन्त्रका नाममा राष्ट्रियता लिलाम हुन लागेपछि जिल्ला जिल्लाका संगठन तातेका छन् । ‘सरकारविरुद्ध होइन, यो व्यवस्थाविरुद्ध नै हामी लागेका छौं । गणतन्त्रका नाममा डेढ दशकमा हामीले जे भागिरहेका छौं, त्यसले कुनै पनि निकास दिन सकेन’, अध्यक्ष अनिल बस्नेत भन्छन्,‘यस्ता कार्यक्रम जारी रहनेछन् । स्वत स्फूर्त रुपमा जनताको सहभागीता बलियो छ ।’

नवलपुर र सुस्तामा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी जिल्लाका अध्यक्ष उपेन्द्र गौतमलगायत चारजना पक्राउ गरी केही बेर नियन्त्रणमा लिएको थियो । शिव सेना नेपालका केन्द्रीय सदस्य मुरार पहलमान नेतृत्वमा निस्केको राँके जुलुसमा नवलपरासी अध्यक्ष गौतम, सुस्ता नगर अध्यक्ष हिटलरसहितका नेता कार्यकर्ताको सहभागीता थियो ।

‘पाल्पा, रुपन्देही र नवलपरासीमा निस्किएको जुलुस र त्यसमा जनताले दिएको साथ र सहयोगको अर्थ भनेको गणतन्त्रको भ्रष्ट राजनीतिक आचरणबाट पार पाउनुपर्छ भन्ने हो’, बस्नेत जोड्छन्,‘हिन्दू सनातन धर्मको रक्षा, देशको प्रतीकका रुपमा रहेको राजसंस्थाका निम्ति जनताको साथ हो ।’

संविधानसभाले गणतन्त्रको घोषणा गरेपछि राजसंस्थाको अन्त्य भएको बताइएको थियो । तर, परिवर्तित व्यवस्थामा भ्रष्टाचार र दलीय आचरणका कारण विदेशी हस्तक्षेप हुँदै धर्ममा समेत आक्रमण भएको शिव सेनाको ठहर छ ।

‘कुनै अभियान मात्र होइन, जनताको मनभित्र हुर्किरहेको राजसंस्थाप्रतिको विश्वासको दियोको उज्यालो, धार्मिक रक्षाका निम्ति पनि हामीले नेतृत्व गरेका हौं’, बस्नेत भन्छन् ।