काठमाडाैं, २२ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य विकल्प नसोची लकडाउन मात्रै लम्ब्याउँदै जाँदा व्यवसाय धरापमा पर्दै गएको भन्दै देशभरका उद्योगी–व्यवसायी आन्दोलित बनेका छन् ।
उनीहरूले मुलुकका प्रमुख सहरमा लकडाउनको विरोधमा पसलसमेत खोलेका थिए । झन्डै साढे दुई महिनादेखि उद्योग–व्यवसाय ठप्प हुँदा बैंकको साँवा–ब्याज तथा कर तिर्न मात्रै नभई दैनिक जीवनयापनमै समस्या भएको भन्दै व्यवसायीहरूले लकडाउनको अवज्ञा थालेका हुन् ।
काठमाडौं, वीरगन्ज, मकवानपुर, चितवन, पोखरा, नेपालगन्ज, सुर्खेत, दोलखालगायतका विभिन्न सहर बजारमा व्यवसायीले पसल खोलेर लकडाउनको अवज्ञा गरे । निजी क्षेत्रका छाता संगठनहरूको अगुवाइमा व्यवसायीहरूले निश्चित समय तोकेर आ–आफ्ना उद्योग–व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
वीरगन्जमा युवाले कपडा खोलेर लकडाउनको विरोध प्रदर्शन गरेका थिए । हेटाैंडामा पसल खोल्ने र प्रहरीले बन्द गर्ने लुकामारी चलेको थियो । नेपालगन्जमा लकडाउनको विरोधमा जिल्ला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ ।
दोलखाका व्यवसायीले बिहान १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न थालिसकेका छन् । काठमाडौंको बौद्ध, जोरपाटीका व्यवसायीले ‘लकडाउन अब अति भयो’ भन्दै मंगलबार पसल खोले ।
व्यापारीहरूले स्वस्फूर्त रूपमा पसल खोल्न थालेपछि प्रहरीले सामान्य धरपकडसमेत गर्यो । व्यवसायीले पसल खोल्ने, तर प्रहरीले खोल्न नदिने कार्य हुँदा एकछिन सामान्य झडपसमेत भएको थियो । मंगलबार नै चितवनमा समेत व्यवसायीले लकडाउनको अवज्ञा गर्ने भन्दै सडकमा निस्किए ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन लम्ब्याउँदै जाने सरकारी नीतिको विरोध गर्दै लकडाउन खुकुलो बनाउन माग गरिसकेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्रै बढाउँदै लैजाने सरकारी नीतिप्रति महासंघले विरोध जनाएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया