७ मंसिर २०८३, सोमबार

पूर्व परराष्ट्र मन्त्री थापाले राजनीतिमा विदेशी चलखेल ‘व्यापक’ देख्नुको अर्थ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेपालको स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखेपछि पूर्व परराष्ट्र मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा ट्वीटमार्फत भनेका छन्– नेपाली राजनीतिमा विदेशी एसेटको चलखेलले ठिक र बेठिक छुट्याउन कठिन भएको छ ।

हालै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्शा जारी गरेपछि भारतीय राजनीतिक तथा प्रशासनिक शक्तिले नेपालको आन्तरिक राजनीतिमा गोप्य रुपमा चलखेल थालेकोप्रति थापाको संकेत थियो ।

यति मात्र होइन, पश्चिमालगायतका मुलुकका चलखेलका उदाहरण र सन्दर्भलाई समेत उनले सांकेतिक रुपमा उल्लेख गर्दै लेखेका छन्,‘बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र यसका उदाहरण हुन् ।’

जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुने खतरा थापाले देखेका छन् ।

थापा ०७२ मा भारतले नेपालमा नाकाबन्दी लगाएका बेला परराष्ट्र मन्त्री थिए । उनले संयुक्त राष्ट्र संघमा भारतको यस्तो कदमको कडा आलोचना गर्दै भू–परिबेष्ठित मुलुकको अधिकारको विषयमा स्मरण समेत गराएका थिए ।

उनले जोड्दै भनेका छन्,‘राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।’

थापाले यस्तो ट्वीट गर्नुको अर्थचाहिँ नेपालमा संकटको अवस्था चलिरहेका बेला विदेशी शक्तिको चलखेल अनेक प्रारुपमा सक्रियताका साथ भइरहेको छ तर राजनीतिज्ञले विवेकपूर्ण हिसाबले कुनै निर्णय गर्न सकिरहेका छैनन् ।