३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरको रेडियो नागरिकका प्रबन्ध निर्देशक श्याम भट्टमाथि सामुहिक आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shyam bhattaमहेन्द्रनगर, २८ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियो नागरिकका प्रबन्ध निर्देशक तथा पत्रकार श्याम भट्टमाथि आक्रमण भएको छ ।

रेडियो नागरिकका पूर्वप्रशिक्षार्थी दिया चन्द नेतृत्वका युवाको समूहले पत्रकार भट्टमाथि कुटपिट गरेको हो ।

रेडियोको विषयमा कुराकानी गर्न भनेर जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरमा आएका नागरिक एफएमका पूर्वप्रशिक्षार्थी दिया चन्द समर्थक युवाले पत्रकार भट्टमाथि कुटपिट गरेको पशु सेवा कार्यालय कञ्चनपुरका सूचना अधिकृत शंकरदत्त जोशीले बताए ।

उनका अनुसार कार्यालय बिदा भएपछि साढे ५ बजेतिर कार्यालयमा आएका युवाले पत्रकारमाथि कुटपिट गरेका हुन् ।

दिया चन्द समर्थक ७/८ जना युवाको समूहले गरेको कुटपिटबाट पत्रकार भट्टको मुख, तीघ्रा, हात र छातीमा चोट लागेको छ । पत्रकार भट्टको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

रेडियोमा प्रशिक्षार्थी रहँदा भएका विवादको विषयलाई उचालेर आफूमाथि कुटपिट गरिएको पत्रकार श्याम भट्टले बताए ।

उनका अनुसार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको समन्वयमा पटक-पटक छलफल भएर विवादको समाधान भइसकेको अवस्थामा कुटपिट गरिएको हो ।

छलफल र कुराकानीबाट समाधान निकाल्न सकिने अवस्था हुँदाहुँदै पत्रकार भट्टमाथि गरिएको कुटपिटको नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले निन्दा गरेको छ ।

‘कुटपिटको विषयलाई आपराधिक दृष्टिकोणबाट हेरेर दोषीमाथि कारवाहीको माग गर्दछौं,’ पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण तिवारीले भने, ‘प्रहरीले दोषीमाथि कारवाही गर्न सक्रियता देखाउनुपर्छ ।’