मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

राजेन्द्र महतोले भने – प्याकेजमा सहमति नभइ संविधान संशोधन हुन्न

दैनिक नेपाल २०७७ जेठ १५ गते १०:००

काठमाडौं, १५ जेठ । राष्टिय जनता पार्टी नेपाल (राजपा)का नेता राजेन्द्र महतोले सबै जनताले स्वीकार गर्ने संविधान नभएसम्म राष्ट्रियता बलियो नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान कुरा गर्दै महतोले अहिलेको परिवेशमा सीमा मात्रै राष्ट्रियताको विषय बन्न नसक्ने बताए ।

उनले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने अवस्थामा ७० वर्षपछि संविधानसभामार्फत बनेको सातौ संविधानमा शासकहरूले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडि जान खोजेको बताए ।

उनले भने, ‘यो संविधानलाई सबैको संविधान बनाउन संशोधन गर्ने पक्षमा सरकार देखिएको छैन ।’

‘संविधान संशोधन गर्दा यहि समयमा हामीले उठाएका विषय पनि ल्याउनुपर्छ’, उनले भने, ‘संविधान एकै पटक प्याकेजमा संशोधन गरी जानुपर्छ ।’ राजपाका नेता महतोले जनताको सवाल पनि राष्ट्रियताकै सवाल भएको बताए ।

‘राष्ट्रघातीहरूले किन नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी ५०औँ वर्षसम्म खोजेनन् ?’, उनले भने, ‘पहिले नेपालको नक्सामा भएको यी भूभागहरू पछि कसरी बेचिए ?’

उनले नेताहरूलाई पनि सीमा र जनतासंगै हिँडाउनुपर्ने बताए । देश र जनतालाई छोडेर एकल रुपमा जानेहरू राष्ट्रघाती भएको उनले बताए ।

महतोले भने, ‘प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन । राष्ट्रिय एकता भएन भने निशान चिन्ह राख्दैमा भूमि फिर्ता आउँदैन ।’

राजपा नेता महतोले अहिले भूमिलाई मात्रै राष्ट्रियताभन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको बताए । उनले राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने बताएका छन् । महतोले संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको बताए ।

‘जुन आशा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन्’, उनले भने, ‘संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सबैले यो संविधानमा आफ्नो अधिकार पाएका छैनन् ।’

‘संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा शुरु भएको हो’, उनले भने, ‘पीडित वर्ग, जनजाती, मधेशी लगायत धेरैमा यो संविधानमा बेइमानी गरिएको छ ।’

‘आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुँदैन भनेका थिए’, उनले भने, ‘दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो ।’

प्रतिक्रिया
सम्बन्धित