काठमाडौं, १५ जेठ । काठमाडाैंकाे टोखा नगरपालिकाले आफ्ना नगरबासीलाई कोरोना सक्रमणबाट जोगाउन डेढ करोड बढीको स्वास्थ्य सामग्री ल्याउने भएको छ ।
कोही पनि भोकै नपरुन र कोही पनि कोरोना महामारीले गर्दा जटील अफ्ट्यारोमा नपरुन भन्ने उद्धेश्यले नगरपालिकाले नगरबासीलाई सहयोग गर्न सामान खरिद गर्न लागेकाे धापासीका बुद्धिजीवी समाजका अध्यक्ष टंक पन्तले बताए ।
नागरिकको उपचारमा क्रियाशील नगरभित्रका स्वास्थ्यकर्मीलाई पीपीइ लगायत स्वास्थ्य उपकरण प्रदान गर्ने कामसंगै नागरिकहरूलाई माक्स , सेनिटाइजर प्रदान गर्ने काम पनि गरेको र पूरै नगरमा औषधि छर्ने कामलाई नगरपालिकाले अहिले पनि निरन्तरता दिएको छ ।
पछिल्लो समय बाहिरबाट नगरमा प्रबेश गरेकाहरूबाट २ जनामा सक्रमण देखिएपछि नगरपालिका थप गम्भीर भएर थप कदम चाल्ने निर्णयमा पुगेको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।
सोही क्रममा नगरपालिकाले तिब्बतको नाग्छुसिटीबाट डेढकरोडभन्दा बढीको स्वास्थ्य उपकरण ल्याउने गरी प्रक्रिया अगााडि बढाएको छ ।
नगरबासीको स्वास्थ्य सुरक्षाका लागि सेनिटाइजर, माक्स, पीपीइ, थर्मलगन लगायतका महत्वपूर्ण स्वास्थ्य सामग्री ल्याउने गरी बुधबार खासामा सम्झौता भएको छ । सम्झोैताका लागि नगरप्रमुख प्रकाश अधिकारीको नेतृत्वमा नगरको एक टोली बुधबार खासा पुगेर आबश्यक प्रक्रिया पूरा गरी फर्किएको छ ।
तिब्बतको माथिल्लो सिटीका प्रमुख र नगर प्रमुखले सम्झौता गरेपछि तत्काल समान नगरपालिकामा पठाउने गरी प्रक्रिया प्रारम्भ भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोख्रेल समेतको सहयोगमा भन्सार छुट गराएर नगरपालिकाले नगरबासीका लागि महत्वपूर्ण स्वास्थ्य सामग्री ल्याउन लागेको नगर प्रमुख अधिकारीले जानकारी गराए ।
७ सय ५२ वटा स्थानीय निकायमध्ये आफ्नै पहलमा नगरको अन्य खर्चमा कम गरेर धेरै स्वास्थ्य सामग्री ल्याउन लागेको यो पहिलो भएको भन्दै नगरपालिकाले यसलाई महत्वपूर्ण कदमका रुपमा लिएको छ ।
नगरपालिकाले पछिल्लो १५ दिनमा बढी मोबिलिटी हुने गरेका किराना पसल, मासु पसल, फलफूल तरकरी पसल, मेडिकल पसलका संचालकहरू, जनप्रतिनिधि, पत्रकार, सफाइकर्मी, सुरक्षाकर्मी र ०७६चैत यता बिदेशबाट आएका नागरिकहरूलाई आरटीडी, पीसीआर परीक्षण गर्ने काम समेत गरिसकेको छ ।
टोखा नगर अन्तर्गत पर्ने बिभिन्न अस्पतालका ल्याब टेक्निसियनलाई बिज्ञमार्फत तालिम दिएर उनीहरूबाटै आरटीडी परीक्षण गर्ने काम भैहरेको र यहि १५ गतेभित्र थप ३ सय ५० जना नगरबासीको आरटीडी परीक्षण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि करीब १ हजार जनाको आरटीडी र पीसीआर परीक्षण टोखा नगरमा नगरपालिकाले नै गरिसकेको छ ।
बागमती प्रदेशका सांसद दीपक निरौला, नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोलसहितका जनप्रतिनिधिहरू निरन्तर कोरोना सक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागिरहे छभने उनीहरूलाई आबश्यक सुझाब सल्लाहका लागि नगरपालिकाले सात सदस्यीय स्वास्थ्य सल्लाहकार समिति पनि बनाएको छ । जसमा चिकित्सकहरू रहेका छन् ।
यतिखेर कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले नगरको बिकास , शिक्षा लगायत नगरबासीको हितमा गर्नुपर्ने कार्यहरूलाई पनि एक साथ अगाडि बढाउँदै लगेको प्रमुख अधिकारीले जानकारी गराएका छन् ।











प्रतिक्रिया