३० आश्विन २०८३, शुक्रबार

बालुवा बोकेरै मासिक पचास हजार कमाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balua

भक्तपुर, २८ फागुन । धरानबाट भक्तपुरको दुवाकोट आएर बसेकी ३६ वर्षीया मीना सुब्बा एक्लैले मासिक ५० हजार रुपैयाँ कमाउँछिन् ।

यहाँ सञ्चालित नीलबाराही बालुवा खानीमा कार्यरत सुब्बाले बालुवा बोकेरै राम्रो आम्दामी गरेपछि उनका लागि अरब, दुबई, मलेसिया यही भएको छ । श्रीमान् ट्रक चालक छन् । श्रीमान् श्रीमतीको कमाइले उनीहरुलाई यहीँ विदेशमा जस्तो कमाइ भएको छ ।

विगत १५ वर्षदेखि बालुवा खानीमा काम गर्दै आएकी सुब्बा कात्तिकदेखि असार नलागेसम्म यसैगरी बालुवा खानीमा बालुवा बोकेरै बिताउने गरेको बताउनुहुन्छ । सुब्बा भन्नुहुन्छ—“हरेक वर्ष झन्डै ९÷१० महिना हामी यहीँ खानीमा बालुवा बोकेरै बिताउँछौँ, राम्रो कमाइ भएकाले अन्त जान मन लाग्दैन ।”

गाउँका सँगैका साथीहरु धेरै पैसा कमाउने लोभमा अरब, दुबई, मलेसिया गए पनि आफू भने परिवारसँगै यहीँ काम गर्दै उहाँले बताउनुभयो । विदेश जाने साथीले कमाएको भन्दा बढी कमाउने गरेको उहाँ बताउनुहुन्छ ।

सुब्बा भन्नुहुन्छ—“विदेश जान मन छैन, हाम्रो लागि यहीँ मलेसिया, अरब र दुबई हो, यहीँको कमाइले सन्तुष्ट छौँ ।” बालुवा खानीमा उनी जस्तै काम गर्ने महिला तथा पुरुष आफ्नो कमाइमा सन्तुष्ट छन् । एउटा ठूलो ट्रक भरेको ज्याला रु दुई हजार ५०० आउँछ । समूहमा काम गर्ने उनीहरुले ट्रक भरिएपछि पाएको पैसा समूहमा दामासाहीले बाँडेर लिने गरेका छन् ।

काभ्रे डाँडागाउँ घर भई दुवाकोटको सोही खानीमा बालुवा बोक्दै आएकी २३ वर्षीया विमला स्याङताङले काम गर्न थालेको दुई वर्ष भयो । मासिक रु ४० हजारसम्म कमाउने गरेको र कामबाट सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ ।

स्याङ्ताङ भन्नुहुन्छ—“हाम्रो १५ जनाको समूह छ, हामी मिलेरै ट्रकमा बालुवा भर्ने गर्छौं, महिनामा कम्तीमा ३० हजारदेखि बढीमा रु ५० हजारसम्म कमाउने गरेका धेरै जना छन् ।”

छोरा र श्रीमान्सँगै दुवाकोटमै बस्दै आएकी स्याङताङका श्रीमान् पनि यहीँ काम गर्नुहुन्छ । दुवैको कमाइ मासिक रु ५० देखि रु ७० हजारसम्म पुग्ने गरेको स्याङताङ् बताउनुहुन्छ ।

बालुवा खानीमै काम गर्ने साँगा भँैसीपाटीकी ३० वर्षीया देवकी लामा विगत ७ वर्षदेखि यही बालुवा बोक्दै आएकी छिन् । खानी चाँडै खुले असोजदेखि नभए कात्तिकदेखि बालुवा बोक्ने काममा ब्यस्त हुने उनी असारसम्म खानीमै काम गर्ने बताउनुहुन्छ ।

दुई छोराछोरी र श्रीमान्सँगै बस्दै आएकी लामा एक्लैले मासिक रु ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—“यहाँ राम्रो कमाइ हुन्छ, हिउँदभरि कमाउने, वर्षाभरि आनन्दले बसेरै खाने, कुनै समस्या छैन ।”

भक्तपुरको दुवाकोट, झौखेल, चाँगुनारायण, छालिङमा सञ्चालित बालुवा खानीमा एक हजारभन्दा बढी कामदारले काम गरेर राम्रो आम्दामी गर्ने गर्छन् ।

जिल्ला विकास समिति भक्तपुरले यस क्षेत्रमा नहिटी, कालिगाट, ज्योर्तिलिङ्गेश्वर नाकाबाट बालुवाको ठेक्का दिएर कर असुली गर्दै आएको छ । बालुवा खानी सञ्चालनबाट स्थानीयदेखि विभिन्न जिल्लाका हजाराँै व्यक्तिले रोजगारी पाएको नीलबाराही बालुवा खानी सञ्चालक मुकुन्द थापा बताउनुहुन्छ ।

बालुवा खानीबाट राम्रो आम्दामी हुने भएपछि अधिकांश कामदार यस क्षेत्रमा आकर्षित भएको काँभ्रे साँगा वाँसडोलकी ३० वर्षीया माइलीमाया थिङ बताउनुहुन्छ । विगत ५ वर्षदेखि बालुवा खानीमा काम गर्दै आएकी थिङसंगै यहाँका बिभिन्न बालुवा खानीमा काभ्रे, भक्तपुर, मकवानपुर, सिन्धुपाल्चोक र रामेछापसम्मका कामदार रहेको बताउनुुहुन्छ ।

ठूलाठूला बालुवा खानीको तल बसेर बालुवा झिक्ने र बोक्ने काम गर्दा ज्यानै जाने जोखिम पनि उत्तिकै छ । दुवाकोटकै एउटा खानीमा ४ वर्षअघि बालुवाको ढिस्कोले पुर्दा पाँचजनाको ज्यान गएको थियो । केही घाइते भएका थिए ।

खानी सञ्चालक राजेश खड्का अहिले जोखिम नभएको दाबी गर्नुहुन्छ । जिविसले तोकेको मापदण्डअनुसार खानी सञ्चालन गर्ने र सुरक्षाका लागि माटो कटिङ गर्ने भएकाले असुरक्षा नहुने उहाँको भनाइ छ । खानी सञ्चालकले कामदारको बिमा गरिदिएको, बिरामीलाई उपचार खर्च दिने गरेकाले कामदार सुरक्षित भएर काम गर्ने गरेको उहाँ बताउनुहन्छ ।

स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले बालुवा खानी सञ्चालकले मापदण्ड विपरीत खानी सञ्चालन गरे, कामदारलाई जोखिममा पारेको पाइए कारबाही गर्ने गरेको बताउनुभयो । जिविस खानी शाखाले समयसमयमा बालुवा, ढुङ्गा र माटो खानीको अनुगमन गर्ने गरेको उहाँले बताउनुभयो । रासस