नेपालगन्ज, ८ जेठ । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३ सय २५ नेपाली भित्रिएका छन् ।
भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
अधिकारी प्याकुरेलका अनुसार बुधबार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३ सय २५ जना छन् ।
सबैभन्दा धैरै दैलेखका ५ सय १ जना छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिइएको र सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आफ्नो गाउँपालिका र नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए।
यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।