काठमाडौं, ५ जेठ । कपिलबस्तु जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट भारतबाट आएकाहरू भाग्नुको मुख्य कारण कोरोना भाइरस परिक्षणमा बिलम्ब गरिनु रहेको तथ्य अगाडि आएको छ ।
विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएका मानिसहरू एक हजार २ सय भन्दा बढीको संख्यामा रहेको र अझ ११ सय जनाको परिक्षण हुन बाँकी रहेको बताइएको छ ।
आइतबार मात्र तीन दर्जन भन्दा बढी मानिस क्वारेन्टाइनबाट भागेका थिए । यो क्रम नरोकिने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । क्वारेन्टाइनमा टेष्ट किट नपुगेका कारण दुई साता भन्दा बढी बसेका सर्वसाधारण भाग्न थालेका उनीहरूको भनाई छ ।
हालसम्म सय जनाको पनि परिक्षण गर्न नसकेको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले प्रदेश सरकार तथा केन्द्र सरकारले टेष्ट किट पठाइनसकेका कारण परिक्षणका लागि तिव्रता दिन नसकेको जवाफ दिने गरेको बताइएको छ ।