काठमाडौं, ३ जेठ। कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट ल्याइएकाे छ ।
नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर शनिबार साँझ उनको शव पशुपति आर्यघाट ल्याएको हो ।
धुलिखेलबाट पशुपति आर्यघाटमा शव ल्याउँदा सडकमा मानिसहरुलाई हिड्न समेत दिइएको थिएन ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनको श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
शव ल्याउन प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको धुलिखेल अस्पतालले जनाएको छ । सदगत गर्न आउने टोलीमा ५ जना रहेको र सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएको थियो ।
सिन्धुपाल्चोक बाह्रविसेकी यी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट बिहीबार मृत्युको थियो । यसको आधिकारिक पुष्टि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बेलुका मात्र गरेको हो ।