चितवन, ३ जेठ । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको छ ।
नेकपा चितवनका नेताहरुले पनि आज मदन आश्रितको दुर्घटना भएको स्थान दासढुंगामा पुगि उहाँहरुको शालिकमा माल्यर्पण गर्ने कार्यक्रम रहेको छ ।बि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको छ ।
आज दिवसका अवसरमा काठमाडौंमा नेकपाका नेताहरूले स्वर्गीय नेताहरूको तस्बिरमा माल्यापन गर्ने कार्यक्रम रहेको छ । गत २ वर्ष अगाडिको जेठ ३ गते नै दुई पार्टी एमाले र एमाओवादीको एकीकरण भएको थियो ।
सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपाका नेताहरूले स्वर्गीय नेताहरूको तस्बिरमा माल्यापन गर्नेछन् । घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।
पोखराको सभालाई सम्बोधन गरि चितवन तर्फ जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा भण्डारी र आश्रित दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।
मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका थिए । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको बताउँदै उनी जस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् ।












प्रतिक्रिया