७ मंसिर २०८३, सोमबार

रुपन्देहीका छ जना काेराेना संक्रमित लुकेर भारतबाट नेपाल प्रवेश गरेकाे खुलासा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० वैशाख । रुपन्देही जिल्लामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएका छ जना लकडाउनका बेला भारतीय सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गरेकाे खुलासा भएकाे छ ।

मुम्बई, नयाँदिल्लीलगायतका शहरबाट दशगजासम्म आइपुगेका उनीहरू एक हप्ता अगाडि नेपाल भित्रिएका हुन् ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका ६ जनामध्ये ४ जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का हुन् । २ जना लुम्बिनी साँस्कृतिक नगरपालिकाका बासिन्दा हुन् ।

सम्मरीमाई-७ का ४ जना पुरुषमध्ये तीनजना भारतबाट नेपाल भित्रिएपछि सीधै स्थानीय मदरसामा बनाइएको क्वारेन्टाइनमा गएर बसेका थिए ।

एकजना भने भैरहवासम्म पुगेको जानकारी आएकाले उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताएका छन् ।

सम्मरीमाईको मदरसाको क्वारेन्टाइनमा उनीहरूसहित २८ जना बसेका थिए । गाउँपालिकाका ७ वटा क्वारेन्टाइनमा १ सय ५२ जना रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं. १ र ४ का संक्रमित दुवैजना भारतको मुम्बईबाट एकसाता अघि आएका हुन् ।

उनीहरू दुवै जना घर आउँदै गरेको जानकारी पाएपछि सीधै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख मनमोहन चौधरीले बताएका छन् ।