काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका बहुमत स्थायी समिति सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘दुवै पद’बाट मुक्त गराउने कोणमा परामर्श थालेका छन् ।
सचिवालयको बैठकमा ‘म थाकें’ भन्दै बुधबार साँझ निस्किएका प्रधानमन्त्री ओलीका कारण विहीबारको स्थायी समिति बैठक बस्न नसकेपछि बहुमत सदस्यले ओलीलाई जिम्मेवारी मुक्त गराउने तिर छलफल केन्द्रित गरेका हुन् ।
कोरोना भाइरसको महामारी चलिरहेको र लक डाउन भएका बेला बहुमत स्थायी समिति सदस्यले कुनै अप्रिय निर्णय गरेको खण्डमा नेकपामा प्रलय आउने विश्लेषण गरिएको छ ।
२० जना स्थायी समिति सदस्यले छलफल गरी बैठकमा अध्यक्ष ओली उपस्थित भएर आत्मआलोचना गर्दै पार्टीको निर्णयअनुसार चल्नुपर्ने, एक पद एक जिम्मेवारीको नीतिलाई अपनाउनुपर्ने जनाएका छन् ।
सानो घेराबाट चल्ने र पार्टी निर्णयलाई कुनै वास्ता नगर्ने प्रधानमन्त्री ओलीको कार्यशैली गलत भएको भन्दै हस्ताक्षर संकलन गरेरै बैठकका लागि माग गरिएको थियो । अघिल्लो सचिवालय बैठकले विहीबार स्थायी समिति डाक्ने निर्णय गरेको थियो तर बुधबारको घटनाक्रमले त्यो अनिश्चित बनिदियो ।











प्रतिक्रिया