
काठमाडौँ, २२ वैशाख । सरकारले सही समयमा लकडाउन तथा कोरोना रोकथामका लागि विभिन्न आवश्यक उपाय अवलम्बन गरेकै कारण नेपाल हालसम्म सुरक्षित रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
प्रतिनिधि सभाको अर्थसमिति बैंठकमा डा. खतिवडाले विचार व्यक्त गर्दै भने, ‘कोरोना संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, नाका सिल गर्ने तथा आन्तरिक आवागमनमा समेत प्रतिबन्ध लगाएकै कारण त्यसको जोखिम न्यून गर्न सरकार सफल भएको छ । सीमा नाका र सीमा पारीबाट हुने संक्रमणको जोखिम अहिले पनि देखिएको छ ।’ उनले भने, ‘तर, लकडाउन नगरेको भए अहिले ठूलो मात्रामा जोखिम बढिसकेको हुन्थ्यो । त्यसलै त्यसको पनि मूल्याङ्कन हुनुपर्छ ।’
त्यस्तै उनले यो संक्रमणको समयमा सरकारले दुई तीन वटा कुरामा ध्यान दिएको बताए । पहिलो कुरा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक पर्ने स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री र स्वास्थ्य जनशक्ति परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई बजेटको अभाव हुन नदिएको भने ।
त्यस्तै, खतिवडाले २०७७ वैशाख सम्ममा १ अर्ब ८ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइएको जनाए । रक्षा मन्त्रालयमार्फत् कोरोना रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि २ अर्ब ३४ करोड निकासा गरिएको पनि बताए ।
नेपाल सरकारले नै कारोना रोकथामका लागि खर्च गर्न कोष स्थापना गरेर उक्त कोषमा ५० करोड रुपैयाँ राखेको बताए । हालसम्म कोषमा करिब २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको जानकारी पनि दिए । उक्त कोषको रकमबाट उद्धार, स्वास्थ्य, स्थानीय तह र प्रदेशमा राहत लगायतका कार्यमा उक्त रकम खर्च गर्ने बताए ।















प्रतिक्रिया