काठमाडौं, २२ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई हटाउने कुरा सम्भव नरहेका बताएका छन् ।
‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रमममा पौडेलले सचिवालयमा ओलीको राजीनामा कसैले नमागेको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्षको राजीनामा मागे जस्तो लागेको छैन । डिस्नेरीमा एउटा अर्थ हुन्छ । कुरा अर्कै हुन्छ ।’
प्रधानमन्त्री ओलीको राजीनामा माग्नेहरू धेरै थिए भन्ने कुरामा आफू सहमत नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा मागियो कि मागिएन ? राजीनामा माग्नेहरू धेरै थिए कि थोरै थिए ? परिणाम देखिएको छ । राजीनामा माग्नेहरू नै थिएनन् कि ?’
पार्टीभित्रको विवाद अन्त्य भएको बताएका पौडेलले भने, ‘कुर्सी र सत्ता जोगाउने कुरै होइन । प्रधानमन्त्री पद संकटमा थिएन । प्रधानमन्त्री पद संकटमा प¥यो भनेर प्रचार गरिएको कुरामा सत्यता थिएन ।’
पार्टीभित्रको आन्तरिक जीवनमा केही समस्या देखिएको भन्दै उनले नेताहरूबीचको सहमति समाधान भएको बताए ।
प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने कुरा गरेको भन्दै महासचिव पौडेलले माधवकुमार नेपालालालाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेको बताए ।
ओली सरकार पाँच वर्षका लागि यथावत रहने महासचिव पौडेलले बताए । गौतम प्रभावकारी नेता रहेको भन्दै पौडेलले भने, ‘प्रतिनिधि सभामा बामदेव गौतम उपयुक्त समयमा आउनु हुन्छ । यही प्रतिनिधि सभाको कार्यकालमा आउनु हुन्छ ।’











प्रतिक्रिया