
काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई ‘उपयुक्त समय’मा प्रतिनिधि सभामा भित्राउने सचिवालय बैठकले निर्णय गरे पनि सरकारको नेतृत्व अथवा मन्त्री बन्ने संवैधानिक अड्चन रहेको छ ।
संशोधन नगरी सरकारमा मन्त्री वा प्रधानमन्त्री बन्नका लागि कसैलाई पनि संविधानले अनुमति नदिएका कारण गौतमको आकांक्षामा बाधा देखिएको हो ।
नेकपामा गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउँदै सरकारमा सहभागी गराउने छलफल चलेको थियो । सचिवालयले यस विषयमा एक पटक गरेको प्रस्ताव कार्यान्वयनमा आएन ।

तर शनिबार अबेरसम्म चलेको सचिवालय बैठकले गौतमलाई प्रतिनिधि सभाको सदस्यमा निर्वाचित गराउने निर्णय गरेको थियो ।
गौतमका लागि गरिएको यो निर्णय सरकारमा लैजाने वा सरकारको नेतृत्व गराउने पृष्ठभूमी र मनसायमा आएको हो । यद्यपि, यो मनसायलाई नेपालको संविधान २०७२ ले अनुमति नदिने व्यवस्था छ ।
संघीय संसदको सदस्य नभएको मानिस मन्त्री हुने व्यवस्था अन्तर्गतको उपधारा ४ मा यस्तो उल्लेख छ । भनिएको छ,‘तत्काल कायम रहेको प्रतिनिधि सभामा पराजित भएको व्यक्ति त्यो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्रीका लागि योग्य हुनेछैन ।’
गौतमका लागि यो उपधाराले मन्त्री हुने बाटो छेकेको छ । प्रतिनिधि सभाको निर्वाचनमा उनी बर्दिया–२ मा पराजित भएका थिए । उनलाई संघीय सदनमा भित्राउनका निम्ति निर्णय भए पनि मन्त्री पदमा लैजानका लागि संविधान नै संशोधन गर्नुको अर्को विकल्प रहन्न ।
गौतमलाई प्रतिनिधि सभामा ल्याउँदै सरकारमा बरिष्ठ उपप्रधानमन्त्रीको जिम्मेवारी दिने वा सरकारकै नेतृत्वसम्म गराउने विषयमा चर्चा गरिएको विवरणमा आएका थिए ।











प्रतिक्रिया