चितवन, २७ फागुन । चितवन जिल्लामा स्वाइन फ्लु संक्रमणको संख्या १० पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएपछि संक्रमितको संख्या १० पुगेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसअघि जिल्लामा ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । यहाँ उपचार गराएकामध्ये आजका थप चारजना समेत गरी स्वाइन फ्लु लाग्नेको सङ्ख्या १० पुगेको छ ।
१० मध्ये दुई नवलपरासी र एक गोर्खा जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी भए पनि अरू सबै चितवनका नै हुन्, जसमा आठ महिला रहेको कीट नियन्त्रण निरीक्षक केसीले बताउनुभयो ।
अहिलेसम्म जिल्लाका बिरामीमध्ये १२६ को परीक्षणमा १० मा फ्लु पुष्टि भएको र अझै केहीको रिपोर्ट भने आउन बाँकी छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले मानिससँग हात नमिलाउने, धेरै भीडभाडमा नजाने, हात जथाभावी मुखमा नलैजाने र मास्क लगाएर हिँड्ने गर्नाले यो रोगबाट बच्ने बताउनुभयो ।
रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्नेलगायत लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ ।
















प्रतिक्रिया