३ कार्तिक २०८३, मंगलबार

व्यावसायिक पत्रकारिताका लागि एनआरएन र पत्रकार महासङ्घबीच सहकार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnjnepal_newsnrn-logo-300x224काठमाडौँ, २७ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को प्रतिनिधिमन्डलले आज नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग भेटगरी पेसागत सुरक्षा र व्यावसायिक दक्ष्यता अभिवृद्धिबारे कुराकानी गरेको छ ।

एनआरएनका अध्यक्ष शेष घले नेतृत्वको टोलीले आज सञ्चारग्रामस्थित महासङ्घको कार्यालयमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहितका पदाधिकारीसँग छलफल गरेको हो ।

भेटका क्रममा नेपाली पत्रकारिताको समसामयिक विषय, व्यावसायिक पत्रकारितालाई प्रभावकारी बनाउन दुई संस्थाबीच के–कस्ता विषयमा कसरी साझेदारीकासाथ अघि बढ्ने भन्नेबारे कुराकानी भएको थियो ।

एनआरएनले नेपाली पत्रकारिताको स्तर निकै माथि उठेको र आफ्ना गतिविधिलाई नेपाली संचार माध्यमले गरेको सहयोगप्रति आभार प्रकट गर्‍यो ।

एनआरएनका अध्यक्ष शेष घलेले पत्रकार महासङ्घसँग व्यावसायिक साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

“मिडिया उद्योगकै रुपमा फस्टाएकोमा खुसी लागेको छ, हाम्रा गतिविधिलाई सक्रियतापूर्वक बाहिर ल्याउन मिडियाले खेलेको भूमिकाप्रति म धन्यवाद दिन चाहन्छु, आगामी दिनमा व्यावसायिक साझेदारीका निम्ति आर्थिक कोषमार्फत दीर्घकालीन कार्यक्रम अगाडि बढाउँछाँ,ै जुन कार्य सुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालमा अहिले पत्रकारिताको स्तर निकै माथि उठेकोमा आफूलाई खुसी लागेको भन्दै सङ्ख्यात्मक विकाससँगै गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने सुझाउनुभयो ।

उहाँले प्रत्येक नेपालीको सपना समृद्ध नेपाल रहेको र देशमा शान्ति, सुरक्षा र बेरोजगारीको अन्त्य भएमात्र आर्थिक समृद्धि हासिल हुने भन्दै देश र समाजका जल्दाबल्दा तथा विकासशील विषयलाई मिडियाले प्रभावकारी ढङ्गले उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले पत्रकारिताको व्यावसायिक विकास र क्षमता अभिवृद्धिका लागि महासङ्घसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको समग्र पत्रकारिताको अवस्थाबारे जानकारी गराउँदै व्यावसायिक पत्रकारिताका लागि महासङ्घ एनआरएनसँग साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

महासङ्घका सचिव उजीर मगर, उपाध्यक्ष अनिता बिन्दु, पूर्व अध्यक्ष सुरेश आचार्यलगायतले नेपाली पत्रकारिताको सङ्ख्यात्मक वृद्धि भए पनि व्यावसायिक गुणस्तर खस्कँदो रहेको भन्दै पत्रकारको क्षमता अभिवृद्धिका लागि राष्ट्रियस्तरको तालिम केन्द्र स्थापनाका लागि दुवै संस्थाबीच सहयोग र सहकार्य हुन जरुरी भएको खाँचो आँैल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ युके शाखाको संयोजनमा एनआरएन र महासङ्घबीच भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

विसं २०१२ मा स्थापना भएको नेपाल पत्रकार महासङ्घ देशभरका पत्रकारको पेसागत हकहित र व्यावसायिक दक्षताका पक्षमा वकालत गर्ने संस्था हो । यसका संस्थापक सभापति नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो ।

सो अवसरमा एनआरएन टोलीले महासङ्घको नवनिर्मित चारतले भवनको अवलोकनसमेत गरेको थियो । रासस