३ कार्तिक २०८३, मंगलबार

छिमेकी गाउँपालिकामा कोरोना भेटिएसँगै झापाको गोलधाप सिल (भिडियोसहित)

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

हल्दिबारी, १७ वैशाख । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं. १ सिल गरिएको छ । आइतबार सीमा जोडिएको छिमेकी गाउँपालिका बाह्रदशीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन वडाले सिल गरेको हो ।

हल्दिबारी गापा १ का वडाध्यक्ष त्रिलोचन सापकोटाका अनुसार हालसम्म वडा सुरक्षित रहेको र अन्यत्रबाट संक्रमण फैलन नदिन शनिबारसम्म सिल गरिएको जनाएका छन् ।

उनले भने, “वडाबासीका सुरक्षाका लागि छिमेकी गाउँपालिकामै संक्रमण भेटिएकाले तत्कालका लागि सिल गरिएको हो ।”

त्यस्तै, शनिबारपछि कोरोना संक्रमणको स्थिति हेरेर बाँकी के गर्ने भन्नेबारे निर्णय लिने पनि उनले बताए । नजिकै संक्रमण भेटिएपछि सर्वपक्षीय बैठक बसेर वडा सिल गर्ने निर्णय गरेको सापकोटाले जानकारी दिए ।

बाह्रदशी गाउँपालिकामा भारतको नयाँ दिल्लीस्थित मुस्लिम समुदायको तब्लिगी जमातबाट ३५ दिन अगाडी फर्किएका एक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै आसपासका मानिसमा त्रास पैदा भएको छ । उक्त क्षेत्रमा पनि सोमबारदेखि सिल गरिएको छ ।