
काठमाडौं, १६ वैशाख । रौतहटको चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) भेटिएको छ ।
उनीसँगै रौतहटमा थप एक जनामा कोरोना पुष्टि भएको हो । योसँग नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
वृन्दावन–९ भुसहा र देवाही गोनाही–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा बसेका थिए । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । तर टेकुको प्रयोगशालामा स्वाब परिक्षणमा कोरोना पुष्टि भएपछि उनको खोजी तिव्रताका साथ भइरहेको छ ।
अर्का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेको थियो ।











प्रतिक्रिया