
रौतहट, १३ वैशाख । रौतहट घर भएर राजधानीमा बस्दै आएकाहरुलाई जिल्लाका स्थानीय तहले निःशुल्क घर ल्याउने काम थालेका छन् । रौतहट जिल्लाका स्थानीय तहका वडा स्तरबाट आफ्नो वडाका नागरिकलाई घर फिर्ता ल्याउने काम थालियको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिकाका वडाहरुले आफ्नो वडाबाट राजधानी काठमाण्डौमा बस्दै आएका मजदुरहरुलाई घर फिर्ता ल्याउन थालेको चन्द्रपुर नगरपालिका वडानं ३ का वडा अध्यक्ष रबी देवकोटाले बताए ।
पहिलो लटकमा एक बस आफ्ना वडाका नागरिक घर ल्याएको र अरु पनि सम्पर्कमा आउनेहरुलाई ल्याउने तयारी भएको देवकोटाले बताए ।
चन्द्रपुर नगरपालिका वडानं ८ ले समेत आफ्नो वडाबाट राजधानीमा गएर बिभिन्न काममा सक्रिय रहेर लकडाउनका कारण राजधानी छाडन नसकेकाहरुलाई लिनका लागि बस पठाएको वडा अध्यक्ष पासपत चौधरीले बताएका छन् ।
जिल्लाको कटहरिया नगरपालिकाले समेत आफ्नो नगरका बासिन्दा लिनका लागि २ बस राजधानी पठाएको नगरप्रमुख शियाराम कुस्वाहले जानकारी दिएका छन् ।
जिल्लाका प्रायः सबैजसो स्थानीय तहले आफ्ना नागरिक लिनका लागि राजधानी बस पठाउन थालेका छन् । आ—आफ्नो नगर तथा वडाका बासिन्दाले सम्बन्धीत वडा तथा नगरपालिकामा सम्पर्क राखेर राजधानीबाट सर्वसाधारण ल्याउन थालेका छन् ।
यसरी राजधानीबाट मजदुर तथा सर्वसाधारण जिल्ला आउन थालेपछि स्थानीय स्तरमा त्रास समेत पैदा भएको पाईन्छ । कयौले त उनीहरुलाई समेत केही समय क्वारेन्टाईनमा राख्नुपर्ने माग गर्दे आएका छन् ।















प्रतिक्रिया