
घोराही, १० वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अगुवाईमा घोराहीका दुईवटा वडाका विपन्न बस्तीमा २ सय २३ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण हुने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १३ र १५ का विभिन्न टोलमा बसोबास गर्ने श्रमिक, मजदुर, विपन्न अनि भाडामा बस्ने विद्यार्थीहरु गरेर २ सय ५१ घरपरिवारलाई चामल अनि अन्य खाद्यान्नहरु वितरण गर्न लागिएको छ ।
प्रियासनले घोराही–१३ स्थित शुभ विहानी टोलका ८३ घरपरिवार, सोही वडाका दुर्गा भवानी टोलका ८० घरपरिवारका लागि १६३ बोरा चामल, सबैका लागि १६५ किलो दाल, १६५ पोका नून, १६५ पोका तेल, ६५ किलो २०० ग्राम स्वायबडि वितरण गर्नका लागि राहत संकलन गर्नु भएको छ ।
यसैगरी प्रियासनले घोराही १५ स्थित न्यूरोडमा बस्ने १७ घर, सोही वडाको नव विहानी टोलमा बस्ने २१ घर, सोही वडाको माथिल्लो सृजनशील टोलमा बस्ने १६ घर गरी ५३ घरपरिवारका लागि ५३ बोरा चामल वितरण गर्नका लागि राहत संकलन गर्नुभएको छ ।
यसैगरी घोराही १५ स्थित प्रकृति नगरमा बस्ने ३५ जना विद्यार्थी एवं श्रमिकका लागि ७ बोरा चामल, ३५ किलो दाल, ३५ किलो चिउरा, ३५ पोका नून, ३५ पोका तेल, १४ किलो स्वायबडि संकलन गरिएको छ ।
संकलित राहत मध्ये वडा नम्वर १३ मा वैशाख ११ गते र १५ वडामा त्यसपछि राहत वितरण गर्ने कार्यक्रम रहेको प्रियासनले जानकारी दिए । संकलित राहतलाई प्रियासनले घोराही उपमहानगरपालिकाको राहत कोषमा हस्तान्तरण गरेका छन् ।
संकलित राहतको विवरण बुझ्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अफ्ठ्यारो अवस्थामा रहेका वर्गसमुदायका लागि राहत संकलन गरेर एकद्धार प्रणालिमा जोडिएकोमा प्रियासनलाई बधाई दिँदै सहयोग गर्ने संघसंस्था एवं दात्ताहरुलाई धन्यवाद दिएका छन् ।
सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सहयोग संकलनको अगुवाई गरेको बताउने प्रियासनले नेपाल पत्रकार महासंघ दाङ शाखाको तर्फबाट अध्यक्षको हैसियतले जिल्लामा र प्रेस संगठन नेपाल प्रदेश नम्वर ५ को संयोजकको हैसियतले प्रदेशभरि अफ्ठेरोमा परेका सञ्चारकर्मी र सञ्चारमाध्यममा कार्यरतहरुलाई पनि सहयोग गर्ने कार्यको अगुवाई गरेका छन् ।















प्रतिक्रिया