८ मंसिर २०८३, मंगलबार

काँग्रेसका ११ युवा नेताको वक्तव्य : प्रधानमन्त्रीसँग सत्तामा रहने नैतिकता छैन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका ११ जना युवा नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तामा रहने नैतिकता नरहेको उल्लेख गरेका छन् ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेताहरूले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी ओलीसँग नभएको ठहर गरेका हुन् ।

सरकारले जारी गरेका दुवै अध्यादेशबाट कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सीमित नभएर संविधानले परिकल्पना गरेको सिँगो राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको वक्तव्यमा उल्लेख छ ।

‘संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?’, उनीहरूको प्रश्न छ ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाइले जारी गरेको वक्तव्यमा संविधानलाई कुल्चेर ल्याइएको जालझेल र षडयन्त्रपूर्ण अध्यादेश प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पूरा गर्नको लागि रहेको प्रष्ट भइसकेको उल्लेख गरिएको छ ।

उनीहरुले संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा रहेको जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।’

लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस्, अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् भन्ने चेतावनी पनि वक्तव्य मार्फत् काँग्रेसका युवा नेताहरुले दिएका छन् ।

सरकारको यो कदममा राष्ट्रपतिको भूमिकालाई अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि रहेको उनीहरुको ठहर छ । यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको युवा नेताहरुले आरोप लगाएका छन् ।