काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार एवं नेकपाका युवा नेता सूर्य थापाले सरकारलाई आवश्यक्ताका आधारमा दुई वटा अध्यादेश ल्याइएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान कुरा गर्दै सल्लाहकार थापाले परामर्श गरेर नै राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरे । उनले ती दुई अध्यादेशमा केन्द्रीय सचिवालयमा सर्वसम्मत सहमति भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भीम रावल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल लगायताका नेताहरूले प्रधानमन्त्री ओलीले बेमौसममा अध्यादेश ल्याएको आरोप लगाएका छन् । नेता हरिबोल गजुरेलले एक कदम अगाडि बढेर प्रधानमन्त्री ओलीले नेकपालाई विभाजन गरेको आरोप पनि लगाएका छन् ।
तर, प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले सबै आरोपहरू खारेज गरेका छन् । उनले सरकार सञ्चालनका बेला आवश्यक पर्ने ऐन, कानून र संविधान समय परिवेशअनुसार परिमार्जित हुँदै जाने बताए ।
थापाले पार्टीमा हैसियतमै नभएका हरिबोला गजुरेल जस्ता नेताहरूले बोलेका कुरामा कुनै अर्थ नरहने बताएका छन् । हरिबोल गजुरेल पार्टीको शीर्ष नेता रहेको भन्दै थापाले भने, ‘हरिबोल गजुरेल पार्टीको एउटा नेता हो । उहाँ जस्ता धेरै नेताहरू छन् । उहाँ शीर्ष नेता होइन ।’
प्रधानमन्त्री ओलीको बदनाम गर्ने कार्यक्रम हरिबोल गजुरेल सक्रिय भएको आरोप लगाउँदै थापाले त्यस्ता कार्यमा रोक लगाउन चेतावनी दिएका छन् ।
थापाले सरकारले आवस्यक ठानेर ल्याएको अध्यादेशका विषयमा पार्टीले चासो राख्नु आवस्यक नभएको बताए ।
‘पार्टीका षड्यन्त्रकारीहरूले कुरा उठाउन आवस्यक छैन’, सल्लाहकार थापाले भने, ‘हरिबोल गजुरेल जस्ता १२ ठाँउमा छोडेर हिड्नेहरूले कुरा उठाइरहनु आवस्यक छैन ।’
‘अध्यादेश कानून बमोजिम जारी भएको छ’, उनले भने, ‘संसद नभएको अवस्था प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले स्वीकृत गर्नुभएको हो ।’
‘अध्यादेश कुनै सहनाइवाला बाजा हैन । जो बजाइ रहने । आफू प्रधानमन्त्री हुँदा ठीक । अरु हुँदा बेठिक’, सल्लाहकार थापाले भने, ‘प्रधामन्त्रीले अध्यादेशका विषयमा पार्टीमा सोध्ने कुरा आउँदैन ।’
उनले राजपा र समाजवादी पार्टी टुक्राउन लागि अध्यादेश नल्याएको बताएका छन् । पत्रकारहरूले पनि अनावस्यक रुपमा विषयान्तर गरेको र कोरानाविरुद्ध लागेको सरकारलाई जनताको हवला दिएर बदनाम गराउन खोजेको थापाले आरोप लगाए ।
‘यो अध्यादेश कोरानाविरुद्धको होइन’, उनले भने, ‘आपत्, विपद परेकै कारण सरकारले अध्यादेश ल्याएको छ ।’
‘अध्यादेश सामान्य प्रक्रिया हो । अध्यादेश जारी भइसक्यो फिर्ता हुँदैन । जारी गर्ने बेला पार्टीलाई जानकारी गराइएको हो’, उनले भने, ‘कांग्रेसले गर्ने विरोध र पार्टी नेताहरूले गर्ने विरोध फरक हो । दिनमा १० वटा पार्टी फोडेर हिँड्ने डा.बाबुराम भट्टराईको के कुरा गर्नु ?’











प्रतिक्रिया