
काठमाडौँ, ८ वैशाख । सत्तारुढ नेकपाको आकस्मिक बोलाइएको सचिवालय बैठकमा आजै पारित गरिएका अध्यादेशका बारेमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम तथा कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।
त्यस्तै, प्रधानमन्त्री ओलीले अध्यादेश ल्याइएको विषयमा पनि जानकारी गराएका थिए । केही नेताले असहमति जनाए पनि प्रधानमन्त्री ओलीकै पक्षमा सचिवालय सदस्यहरु उभिएका थिए । अध्यादेश ल्याउन ठुलो कुरा नभएको प्रधानमन्त्रीले जनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले पार्टी एकतालाई थप मजबुत बनाउने र कोरोनाविरुद्धको लडाइँमा सरकारलाई सघाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जनाकारी दिए ।
बालुवाटारमा २ घण्टा लामो बैठक बसेको थियो ।
नेकपा सचिवालय बैठकपछि जारी प्रेस विज्ञप्ति जस्ताको तस्तै:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड”काे संयुक्त अध्यक्षतामा बसेकाे बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूकाे बारेमा छलफल भयाे ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुकाे औचित्यबारे बैठकलाई जानकारी गराउनुभयाे । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ-आफ्नो धारणा राख्नुभयाे ।
छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएकाे सूचना प्राप्त भयाे ।
बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा काेराेना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जाेड दिएकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
८ बैशाख २०७७















प्रतिक्रिया