
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था भनेको जनताको जीवन बचाउनु पहिलो महत्वपूर्ण प्राथामिकता रहेको बताएका छन् ।
उनले भने, लकडाउन सरकारको रहर होइन, जनतालाई बचाउन हो । आइतबार साँझ नेपाल टेलिभिजनको अन्तरक्रियामा मानिसको जीवन रक्षा गर्नु नै प्रमुख चुनौती रहेको उनले बताए ।
उनले कोरोनाभाइरसको आक्रान्त अवस्थाबाट जोगिन जारी लकडाउन कुनै राजनीतिक विषय वा इच्छाइएको विषय नभएको बताए ।
जनताको जीवन बचाउने कुरामा कुनै पनि राजनीति नरहेको पनि उनले भने । आर्थिक घाटा भएको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेको आर्थिक घाटा अर्काे पटक बढाउन सकिने बताए ।
तर अहिले मरेको जीवन अर्काे पटक बचाउन नसकिने बताउँदै अहिले केवल प्रत्येक जनताको जीवन रक्षा गर्न नै प्राथामिकतामा रहेको बताए ।
प्रधानमन्त्री ओलीले अहिले कोरोनासँग लड्ने मात्रै कुरा केन्द्रित हुनुपर्ने बताए । त्यस्तै, कोरोना नियन्त्रण गर्न सकिने र कोरोना नियन्त्रणपछि नेपालमा स्वास्थ्य लगायतका क्षेत्रमा आमूल परिवर्तन हुने पनि उनले दावी गरे ।
त्यस्तै, स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्नेबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दाहोर्याए ।
आफ्नो सबै सम्पत्ति दान दिएको र रहेको पनि पछि दिने बताउँदै ओलीले आफ्नो भत्ता तथा श्रीमती राधिकाको पेन्सनमात्रै आफ्नो सम्पत्ति भएको बताए ।
त्यस्तै, वाइडबडी, ललिता निवास प्रकरणमा यो सरकारले छानबिन गरेको पनि उनले उल्लेख गरे । आफ्नो कार्यकालमा त्यस्ता ठूला ठूला भ्रष्टाचारको छानविन भएको उनले बताए । त्यस्तै, अहिलेको यस्तो विषम परिस्थितिमा कसैले अनियमितता नगरेको उनले जिकिर गरे ।
जनतामा भ्रम सिर्जना गर्र्दै मान्छेको जीवनको पर्वाह नगरी सरकारलाई असफल पार्न अनियमितताको हल्ला फिँजाइएको प्रधानमन्त्री ओलीले जनाए ।
त्यस्तै, उनले यस्ता हल्लाले आफूलाई झन् सचेत बनाउने उर्जा पैदा गर्ने बताए । यदि छानविन गर्दा कोही दोषी कारवाही गर्ने पनि उनले स्पष्ट पारे ।
त्यसैगरी, लकडाउन कडाइ भइरहेको बेलामा समेत श्रमिक लगायत जनताहरु निकै लामो दुरीको यात्रा भोकै हिँडेर गइरहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले सञ्चारकर्मी लगायतलाई त्यस्तो अवस्था देखिए तुरुन्त सरकारलाई जानकारी दिन अनुरोध गरे ।
जनताको जीवन रक्षा गर्नु नै सरकारको प्राथामिकता रहेको जनाउँदै उनले रोगले पनि जनता मर्नुहुन्न र भोकले पनि मर्न नदिने बताए ।















प्रतिक्रिया