३० आश्विन २०८३, शुक्रबार

बैदेशिक रोजगार त्यागी नेपालमै लाखौँको आम्दानी गर्न सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkari-kisan

-रबिना बोहरा
बागलुङ, २६ फागुन । बैदेशिक रोजगार त्यागी आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले तरकारी खेतीमा लाग्नुभएका बागलुङ कुँडुलेका टिकाराम सापकोटाले तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

कुँडुले वडा नम्बर ७ छापका ६४ बर्षीय सापकोटाले बिगत ३० बर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । खेती नगर्दाको समयमा बिहान बेलुकाको छाक टार्न समेत गाह्रो हुुने भन्दै उहाँले तरकारी खेती गरेपछि पारीवारिक समस्या समाधान हुनुका साथै दैनिक जिवन राम्रोसंग चलेको बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय बागलुङ र लुम्ले कृषि केन्द्रबाट ३ दिने अगुवा कृषि तालिम लिएर तरकारी खेती थालेको उहाँले बताउनुभयो । आफ्नै परिश्रमबाट गरेको खेतीबाट राम्रै आम्दानी हुन थालेपछि अहिले घर खर्च चलाएर पनि डेढ रोपनी जग्गा समेत खरिद गरिसकेको सापकोटाको भनाई छ ।

अहिले दुई सिजनमा गरेर १० रोपनी जग्गामा गोलभेडा, अदुवा, लौका, केराउ, बन्दा, काउली लगायतका बेमौसमी तरकारीहरु लगाउने गरेको सापकोटाले बताउनुभयो । तरकारी खेती गरी आफु सन्तुष्ट रहेको भन्दै उहाँले आफुलाई कुनै खालको समस्या नभएको बताउनुभयो ।

सबै खर्च कटाएर एक बर्षमा करिब ४ लाख सम्म हुने भन्दै यसबर्ष भने ३ लाख तरकारीबाटै आम्दानी भएको बताउनुभयो । आफ्नै माटोमा रमेर तरकारी खेती गर्न सक्ने हो भने घर खर्च चलाउनुका साथै दैनिक जिवनयापन गर्न कुनै समस्या नहुने उहाँको भनाई थियो ।

सापकोटालाई ३० वर्ष पहिलेको आर्थिक अवस्थालाई हेर्दा मेहेनत नै सफलता हो भन्ने लाग्छ । सापकोटा अहिले आर्थिक रुपमा पनि सक्षम हुनुहुन्छ ।

यसरी तरकारी खेतीबाट मनग्य आम्दानी गर्नुभएका टिकाराम सापकोटाले नेपालमा जे काम गरेपनि केहि हुदैन भन्नेहरुका लागी चुनौती दिनुभएको छ ।

आफ्नै देश आफ्नै माटोमा कडा परिश्रमका साथ काम गर्ने हो भने पैसा कमाउनका लागी बिदेशनै जानुपर्छ भन्ने छैन ।
विशेषगरी बैदेशिक रोजगारमा जाने युवाहरुका लागी पनि यो चुनौतिको बिषय बनेको छ ।

सापकोटाले देशका युवा एवं अन्य कृषकहरु पनि आफ्नै मेहनत र आफ्नै परिश्रमबाट खेती गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।