काठमाडाैं, २ वैशाख । रौतहटका कोरोना संक्रमित १९ वर्षीय किशोर भारतको नयाँ दिल्लीबाट गत चैत १६ गते घर फर्केको खुलेको छ । उनको घर इशनाथ नगरपालिकामा पर्छ। उनी १७ गते गाउँकै विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका थिए।
उनी दिल्लीको एउटा फ्याक्ट्रीमा काम गर्थे । कोरोनाको संक्रमण रोक्न भारत सरकारले लकडाउन गरेपछि उनी दिल्लीमा अलपत्र परे । त्यहाँ बस्न खानसमेत समस्या भएपछि उनी दिल्लीबाट एउटा औषधि बोकेको गाडीमा चढेर बिहारको मोतिहारीसम्म आइपुगेका थिए ।
बिहार राज्य पनि लकडाउन भएका कारण मोतिहारीमा गाडी पाइएन । त्यसपछि उनी पैदल हिडरै घरतर्फ लागे। चैत १६ गते रौतहतको औरैया नाकामा आइपुगे। उनी राति त्यही नाकाबाट नेपाल प्रवेश गरे। पैदलै सोही राति उनी घर पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शशी मोहद दास भन्छन्, ‘कोरोना संक्रमित पुष्टि भएका ति व्यक्तिको घरमा चारजना छन् । घर पुगेर उनले बाहिरकै कोठामा रातभर सुतेका थिए। बिहानपल्टै उनलाई क्वारेन्टाइनमा राखियो।’
संक्रमित व्यक्तिका परिवार यतिबेला होम क्वारेन्टाइनमा रहेको उनले बताए। उनले भने, ‘संक्रमित ति किशोरको परिवारका चारै जनाको र्यापिड टेस्ट गर्न टोली पठाइसकेका छौँ। रिपोर्ट शंकास्पद देखिए थप परीक्षण गरिनेछ।’ संक्रमण पुष्टि भएपछि अहिले उनलाई क्वारेन्टाइनमै राखिएको छ।
कोरोना संक्रमण पुष्टि भएका कारण उनलाई जनकपुर वा वीरगन्जको आइसोलेसन वार्डमा राखिने तयारी गरिरहेको सूचना अधिकारी दासले बताए। उनले भने, ‘कुनै एकठाउँको आइसोलेसनमा सकभर आजै राति पठाउछौँ। यो विषयमा छलफल भइरहेको छ।’
संक्रमित व्यक्ति भारतबाट आएलगत्तै क्वारेन्टाइनमा भर्ना भएकाले थप व्यक्तिमा संक्रमणको संभावना नरहेको उनको भनाइ छ।
रौतहटमा समेत संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ। बैठकले नाकामा सुरक्षा सतर्कता बढाउने र लकडाउन कडा पार्ने निर्णय गरेको हो।
प्रदेश–२ मा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। यसअघि भारतबाटै वीरगन्ज–२ स्थित मस्जिदमा बसेका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो। वीरगन्ज र रौतहटमा समेत कोरोना संक्रमित भेटिएपछि प्रदेश २ का जनता त्रसित बनेका छन् ।











प्रतिक्रिया