
काठमाडौँ, ३० चैत । नेपालमा हालसम्म करिब साढे ८ हजारको कोरोनाभाइरस (कोभिड १९) को परीक्षण हुँदा १२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार थप तीन जना नयाँ संक्रमित भेटिएका हुन् ।
नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबार राति परीक्षण गरिएकोमा तीन जना व्यक्तिमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार उनीहरु तीनै जना वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका छन् ।
हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन् । तीन जना भारतीयमा कोरोना देखिएपछि अहिले महानगरपालिका वडा नम्बर २ र ३ क्षेत्र पूर्ण सिल गर्ने तयारी छ ।
पछिल्लो समय सरकारले कोरोनाको परीक्षणलाई बढाएको छ । गएको २४ घण्टामा मात्र ७ सय बढीको परीक्षण गरिएको छ ।
देशभर अहिलेसम्म सात हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् । राजधानी उपत्यकामा १५ र उपत्यका बाहिर ७० गरेर ८५ को आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए ।















प्रतिक्रिया