२ कार्तिक २०८३, सोमबार

कृषि उपज सहज आपूर्ति गराउन संसदीय समितिको सरकारलाई निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘लकडाउन’को समयमा सहज रूपमा कृषिउपज उपभोक्ता समक्ष पुर्याउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति पूर्णाकुमारी सुवेदीका अनुसार समितिका सदस्यको परामर्शमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीको अवस्थामा कृषकको उत्पादन निर्वाध रूपमा उपभोक्तासमक्ष पुग्न समस्या भएको पाइएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको हो ।

कोरोना भाइरसको सङ्क्रमण नेपालमा नफैलियोस् भनेर सरकार गम्भीर भएर लागेको भए पनि दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था आएको भन्दै आपूर्तिका लागि सहज प्रबन्ध गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिले सुरक्षित तरिकाले दूध सङ्कलन एवं बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने, दूधको उपभोक्ता विशेष परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकामा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्नसमेत सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, कैलालीको टीकापुरमा केरा उत्पादक किसान तथा अन्य देशैभरका किसानलाई हालैका दिनमा परेका समस्याको स्मरण गर्दै समितिले कुखुरा, अण्डा, माछा, मासु, तरकारी, फलफूल उत्पादक किसानलाई देशभर लागू भएको बन्दाबन्दीबाट पुगेको क्षति अपुरणीय रहेको निष्कर्ष निकालेको छ ।

किसानले उत्पादन गरेको कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन नसकेको र अर्कोतर्फ उक्त वस्तु उपभोक्ताले सहज रूपमा पाउन नसकेको अवस्था रहेको भन्दै समितिले किसानबाट उत्पादित कृषि सामग्री सुरक्षित रूपमा तत्काल बजारमा पुर्याउने व्यवस्थाका लागि निर्देशन स्पष्ट कार्ययोजनासहित लागू गर्न र समस्याको सहजीकरण गर्नसमेत भनेको छ । -रासस