
काठमाडौँ, २८ चैत । प्रदेश दुई सरकारले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएकाहरुको भाइरसको संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश २ को मन्त्री परिषदको बैठकबाट सो निर्णय गरिएको हो ।
निर्णयअनुसार कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोनाको संक्रमण भइ मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, लकडाउनबाट प्रवाभित किसानहरुलाई प्रदेश सरकारले सहुलियत दिएको छ । प्रदेशले किसानहरुले बैङ्क, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ ।
प्रदेश सरकारले अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको ब्याज तिरीदिनेछ ।
५ लाख रुपैयाँसम्मको ऋणमा ४ महिनाको सम्मको १२ प्रतिशतको सबै ब्याज, १५ लाख रुपैयाँ सम्मको १२ प्रतिशत ब्याजदरमा ५० प्रतिशत, ३० लाखसम्ममा ४० प्रतिशत र ३० लाख रुपैयाँभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम ब्याज तिरिदिने प्रदेश मन्त्रिपरिषदले निर्णय गरेको छ ।















प्रतिक्रिया