
काठमाडौँ, २५ चैत । बझाङमा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न देशव्यापी लकडाउन तोडिएको छ । लकडाउनको समयमा पनि छविसपाथीभेरा गाउँपालिका—३ को बान्नीकोटमा धुमधामसँग मेला लागेको छ ।
स्थानीयले चैत ११ गतेदेखि नै मेलाको सुरुवात गरेका थिए । उनीहरुले जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको भव्य समापन गरेका हुन् । काकर सेलाउने भन्दै परम्परागत रुपमा धेरै नागरिकको भीडले मेलाको समापन गरेका हुन् ।
बझाङ जिल्ला प्रशासनले मेला रोक्ने आदेश दिएपनि मेला लागेको बताइएको छ ।
दु्र्गम पालिका भएकाले त्यहाँ पुग्न घण्टौँ हिड्नुपर्ने स्थानीय बताउँछन् । करिब ३ सय मानिस भेला भएर मेला आयोजना भएको थियो ।
मेलामा सम्बन्धित वडाका नागरिकको मात्र उपस्थिति रहेको बताइएको छ ।
लकडाउनको उल्लंघन गर्दै यस किसिमका भीडभाडले कोरोना संक्रमणको जोखिम बढाउँछ । यदि भीडमा एकजना मात्रै संक्रमित रहेछ भने अन्य मानिसमा सर्ने सम्भावना गुणांकमा बढ्ने सरोकारवाला बताउँछन् ।















प्रतिक्रिया