काठमाडौँ, २५ फागुन । बारा जिल्ला कलैयाकी ६ वर्षीया बलात्कृत बालिका पूजा साहको उपचारका क्रममा आइतबार बेलुका ७ बजे निधन भएको छ ।
कलैयामा बलात्कारपछि असक्त बनेकी साह थप उपचारका लागि यही फागुन १० गते कान्ति बाल अस्पताल काठमाडौँमा भर्ना भएकी थिइन् ।
निधन भएकी बालिकाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको र आज जिल्लाबाट परिवारजन आएपछि सल्लाह गरेर दाहसंस्कारका लागि घर फर्किने निजका बुवा बद्रीनारायण साहले जानकारी दिनुभयो ।
बालिका यही फागुन ९ गते बिहान करिब ६ बजे कलैया–६ मोतीमार्गस्थित कपास उद्योगको फोहर फ्याक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
सुरुमा बालिकालाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिए पनि पछि थप उपचारका लागि कान्ति बाल अस्पताल ल्याई भर्ना गरिएको थियो ।
घटनामा संलग्न कन्हैयालाल गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले बलात्कार गरेको स्वीकारेका छन् । ठूलीले नमानेपछि सानीलाई फकाएर बलात्कार गरेको उनले बताएका छन् ।
उनले बलात्कार गरेर ६ वर्षिय बालिकालाई फोहोरमा फालेका थिए । प्रहरीले खोजविन गर्दा फोहोर फाल्ने ठाउँमा अचेत अवस्थामा बलात्कार भएको दोस्रो दिन मात्रै फेला पारेको थियो । परिवारजनले अभियुक्त गुप्तालाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् ।















प्रतिक्रिया