४ कार्तिक २०८३, बुधबार

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द गर्ने निर्णय थोरै दिन अगाडि मात्रै गरेकाले उपत्यका छाड्नेलाई समस्या देखिएको छ ।

उपत्यका छाडेर जान चाहनेले टिकट नपाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले दुइ दिन मात्र समय दिएर लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेकाले टिकट नपाएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले एकैचोटि धेरै यात्रु बाहिरिन चाहेकाले केही समस्या आएको बताएका छन् । ‘यो संकटको बेला हो, सबैले मिलेर काम र समाधान गर्नुपर्छ,’ उनले भने ।

सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामस्वरूप यातायात क्षेत्रलाई सहज बनाउन सार्वजनिक सवारीका रुट इजाजत खुला गरिसकेको छ । रुट खुला गरिएसँगै अब एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउनेछन् ।

विभागले आगामी ३ वैशाख २०७७ सम्मका लागि सार्वजनिक यात्रुवाहक यातायातका सवारी साधनलाई बाटो इजातज खुला गरिएको हो ।

सरकारले नेपाल–भारतमैत्री बस सेवा पनि तत्कालका लागि स्थगित गरेको छ । हाल १३ वटा रुटमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि स्थगित गरिएको विभागले जनाएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना निकालेर नयाँ लाइसेन्स र थपको आवेदनसमेत बन्द गरेको छ । सरकारले गाडीमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, गाडीमा सेनिटाइजर अनिवार्य र यात्रुले मास्क लगाउन पनि विभागले निर्देशन दिएको छ ।

सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू ९ चैत १८ सम्म स्थगित गरेको छ । प्रधानमन्त्री ओलीले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।