
-प्रतिक पौडेल
भैरहवा, ८ चैत । प्रदेश नं ५ रुपन्देहीको बेलहिया देशकै दोस्रो ठुलो नाका हो । रोजगारीका लागि भारत गएका नेपाली, विद्यार्थीहरु यस नाका बाट आउने क्रम बढेपछि उच्च सतर्कता अपनाइएको छ ।
देशकै प्रमुख नाका मध्य एक बेलहियाबाट दैनिक हजारौ संख्यामा भारत र नेपाल आवतजावत हुने गरेको छ । नाकामा रोजगारीका लागि भारत गएका नेपाली, अध्ययन गर्न गएका विद्यार्थी र तिर्थयात्रीहरुको संख्या नेपाल भित्रने क्रममा वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्तका अनुसार कोरोना संक्रमण फैलन नदिन सिमा नाकामा उच्च सतर्कता अपनाइएको हो ।
बेलहिया नाकामा अहिले नेपाल सरकारका तिन वटै सुरक्षा निकाए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाकामा परिचालन भएका छन् ।
नेपाली सेनाको लेफटिनेन्ट कर्णेल ज्योती कुमार थापाको नेतृत्वमा परिचालन भएको टोलीले नाकामा प्रवेश हुने सबैको चेकजाच गरेर मात्र नेपाल भित्रन दिइएको छ ।
सिमा नाकामा अहिले नेपाल भारतको सुरक्षा निकाय बिच सहकार्य गरेर कोरोना संक्रमणको चेकजाँच भैरहेको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरि अधिकारीका अनुसार नाका बाट प्रवेश गर्ने हरेक व्यक्तिको स्वास्थ चेकजाँच गरेर मात्र नेपाल भित्रन दिइएको छ । अधिकारीका अनुसार १०० डिग्री भन्दा बढि तापक्रम देखिए भारत फक्राउने गरिएको छ ।
बेलहिया नाका हुँदै अहिले दैनिक १५ हजार भन्दा बढि नेपाल भित्रि रहेका छन् । नाकामा अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका स्वास्थ शाखा र स्थानियको सहयोगमा कोरोना संक्रमणको चेकजाच सुरु गरेको हो ।
बेलहियाका स्थानिय धर्मराज गिरीले नेपाल सरकारले सिमा नाकामा उच्च सतर्कताका साथ कोरोना संक्रमण नेपाल प्रवेश गर्न नदिन लागेको बताए ।
हेल्थ डेक्समा १२ जना स्वास्थ कर्मचारी बिभिन्न सिफ्ट गरेर एकपटकमा ५ जनाले स्वास्थ चेकजाँच गर्ने गरेका छन् । हेल्थ डेक्समा चेकजाच गरेपछि शंकास्पद देखिए भारत सरकारले नाकामा राखेको थर्मल स्क्यानरमा पुन चेकजाच गराएर भारत फिर्ता पठाउने गरिएको छ ।
नेपाल तर्फ हालसम्म भने थर्मल स्क्यानर रहेकको छैन । हेल्थ डेक्स अहिले नेपाल प्रवेश गर्ने प्रमुख बिन्दुमै रहेको छ ।
नाकामा मालबाहक गाडीका चालकलाई पनि स्यानिटाइजर र तापक्रम मापन गरेका छन् । अन्तरदेशीय बस सेवा समेत रोकिएको छैन ।
सुनौली बजार नेपालीको किनमेल गर्ने प्रमुख बजार पनि हो । पर्यटकको आवागमन रोकिए पनि किनमेल गर्नहरू भारतीय बजार सुनौली जान छाडेका छैनन् ।















प्रतिक्रिया